हराएका २६ सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगञ्ज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २६ वटा सहित १४१ वटा सवारी साधन साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयले बताएको छ ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *