वातावरणलाई र व्यवसायीलाई ठूलो फाइदा भएको छ

 – राजन रायमाझी, परिकल्पनाकार – दिगो ग्रुप

 नेपालमा विद्युतीय सवारीको सन्दर्भमा दिगो ग्रुप चर्चित ब्रान्ड हो । दिगोले नेपालमा विद्युतीय सवारीको स्थापना गर्न ठूलो योगदान गरेको छ ।

यो कम्पनीको मेहनतले अहिले धेरै ब्रान्डका सवारी साधनलाई सहयोग भएको अन्य ब्रान्डका व्यवसायीले बताएका छन् ।

यो ब्रान्डले नेपालमा लिथियम आयन ब्याट्री, विभिन्न इभी गाडीहरु, चार्जिङ लगायतका विषयमा विभिन्न परीक्षण गर्ने र घाटा बेहोरेरै भए पनि एक खालको सबैलाई फाइदा हुने किसिमको रिजल्ट निकाल्ने काम गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका लागि ५१ वटाभन्दा बढी चार्जिङ स्टेसन बनाएको छ भने साझा यातायातको ४०वटा विद्युतीय गाडी साथै चर्जिङ्ग स्टेशन संचालनमा ल्याएको छ ।

यी लगायतका नेपालमा इभी इकोसिस्टममा विभिन्न काम दिगो ग्रुपले गरिरहेको छ ।

दिगोको विगतदेखि वर्तमानसम्मको अवस्था बुझ्नका लागि हामीले दिगोका परिकल्पनाकार राजन रायमाझीसँग केही कुराकानी गरेका छौ । प्रस्तुत छ अटो नेपालको टिमले उहाँसँग गरेको कुराकानी :

केही वर्षअगाडि मेरो छोरा १० वर्षको हुँदा मैले ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज, काठमाडौँ पोलुटेड सिटी भन्ने विषयलाई नजिकबाट नियालें । मलाई लाग्यो, हामी त जसोतसो आधी जीवन काटिसक्यौं ।

यी छोराछोरीको भविष्यचाहिँ कस्तो होला ? यिनीहरुको पालामा अक्सिजनको सिलिन्डर नै बोक्नुपर्ने त हैन भन्ने मलाई लाग्यो ।

अनि मैले यो विषयमा वास्तवमै केही गर्नुपर्छ भनेर निर्णय गरें । त्यसका लागि मैले सस्टिनेबल बिजनेस गर्ने, जसले वातावरणलाई सपोर्ट गरोस् भनेर सोलारको व्यवसाय सुरु गरें ।

१८ घण्टे लोडसेडिङको समयमा जेनेरेटरले उत्पादन गर्ने पोलुसन नियन्त्रण गर्न सोलार सुरु गरेको थिएँ ।

तर, त्यसमा पनि लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो । यो पनि वातावरणका लागि खतराको विषय थियो ।

त्यो बेलामा एक जना निर्देशकमार्फत नेपाल टेलिकममा र यसको टावरको ब्याकअपका लागि व्यापक मात्रामा लिड एसिड ब्याट्रीको प्रयोग भएको पाएँ ।

उहाँसँग यसको डिस्पोजको कुरा गर्दा पुरानो ब्याट्री फिर्ता ल्यायो भने पुरै सिंहदरबारको अफिस भरिन्छ भन्नुभो । टेलिकमसँग त्यसको डिस्पोजको कुनै विकल्प थिएन ।

त्यसपछि मैले लिथियम आयन ब्याट्री त्यसको विकल्पका रुपमा देखें र आजभन्दा १२ वर्षअगाडि लामो समय चल्ने र लिड एसिड ब्याट्रीभन्दा कम खतारा हुने लिथियम आयन ब्याट्री नेपाल ल्याएँ । सायद त्योभन्दा अगाडि नेपालमा यो ब्याट्री आएको थिएन होला ।

त्यो ब्याट्री हामीले सोलार र स्ट्रिट लाइटका लागि प्रयोग गर्यौं । केही ब्याट्री स्ट्रिट लाइटमा अहिले पनि चलिरेहको छ । त्यो ब्याट्री महँगो भएकाले त्यो बेलामा खुलेर काम गर्न गार्हो भो । त्यो बेलामा यो ब्याट्रीको भन्सार लाग्दैनथ्यो भने भ्याट पनि थिएन । तथापि महँगो थियो ।

त्यो सोलार लाइट अन्नपूर्ण होटल, फिसटेल होटल अनि आर्मी र पुलिसकोमा पनि प्रयोग भयो ।

२०१२ मा वल्र्ड बैंकले सार्वजनिक गर्दै भन्यो, काठमाडौं उपत्यकाको ७० प्रतिशत पोलुसनको कारण सवारी साधन हो ।

त्यसपछि मैले सोचें, अटोमोटिभ क्षेत्रमा केही गर्न सकेको खण्डमा यो पोलुसन धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

त्यसपछि इभीका बारेमा सोच्न थाले । त्यो बेलामा महेन्द्राले इओ–२ गाडी बिक्री गर्न सुरु गरिसकेको थियो ।

अनि मैले ‘यो गाडीको भ्याल्यु मैले बुझेको छु, मलाई डिलर दिनोस्’ भने । तर त्यो गाडी पाइनँ । कियाले सोल ल्यायो अनि मैले डिलर र चार्जिङ सबै म हेर्छु भनें ।

मैले सब–डिस्ट्रिब्युटरसिप पाएँ । ग्राहककालागि गाडी महँगो, रेन्ज कम, चार्जिङ स्टेसन कम भएकाले ठिक्क मात्र बिक्यो ।

यो गाडीमा पोखरा कसरी पुग्ने भन्नेका लागि त्यो बेलामा ठ्याक्कै जवाफ थिएन । यो अनुभवले मलाई राम्रो पाठ सिकायो । सीमित क्षेत्रमा चल्ने कारले मैले सोचेको पोलुसन नियन्त्रण हुने पनि देखिएन ।

नेपालमा समुद्री मार्ग र रेल मार्ग छैन । यसको विकल्प भनेको सडक मात्रै हो । त्यसैले लामो दूरीको पोलुसन नियन्त्रण गर्ने भनेको कमर्सियल गाडीले हो । त्यसपछि म चाइना जान थालें । चाइना जाँदा अध्ययन गरेर गाडी मात्र हैन, गाडीका लागि इकोसिस्टमको पनि विकास गर्ने सोच बनाएँ ।

विद्युतीय सवारीका लागि विभिन्न स्थानमा चार्जिङ स्टेसन र सर्भिसिङका बारेमा पनि अध्ययन गरें । त्यहिँ क्रममा मैले नेपालमा पहिलो पटक कुरिन्टारमा डिसी चार्जर राखें ।

त्यो कियाको लागि राखिएको थियो । त्यो बेलामा कमर्सियल इभी चाइनामा मात्रै थियो ।

चाइनामा इभीको धेरै विकास भएको र इभीका लागि इकोसिस्टम विकास भएको पाएँ । अनि मैले नेपालमा सस्तो खालका इभी ल्याउनुपर्छ, त्यो निजी गाडी वा कमर्सियल होस् भनें । त्यसपछि मैले साना कार्गो, पिकअप, साना गाडी पनि ल्याएँ ।

नेपालमा कमर्सियल रुटको अध्यन गरेर एघार सिटर माइक्रो मैले पहिला दक्षिणकाली–हेटौंडाको लागि सोचेर ल्याएँ । तर, त्यो रुटमा नलगाएर त्यो इभी हामीले सिन्धुली रुटमा हाल्यौं । एउटा चार्जर पनि राख्यौं । अहिले त्यो रुटमा १ हजारभन्दा बढी इभी चल्छन् । ३६ वटा चार्जिङ स्टेसन छन् ।

यसले हाम्रो देशलाई, वातावरणलाई र व्यवसायीलाई ठूलो फाइदा भएको छ । कमर्सियल इभीको दैनिक खर्च १ हजारभन्दा बढी हुँदैन ।

डिजेल कमर्सियल गाडीमा घाटा हुने अवस्था पनि हुन्छ । बैंकले यी गाडीमा धितोबिना फाइनान्स गर्दैनन् । अहिले इभीमा त्यो समस्या छैन । इभी व्यवसायी धेरै खुसी छन् ।

हाम्रो माइक्रो त्यो रुटमा चलेपछि म सिन्धुली हुँदै पूर्व जाँदै थिए । सिन्धुली बसपार्कमा भएको चार्जिङ स्टेसनमा ड्राइभर व्यवसायी हुर्र आए । मसँग धेरै खुसी व्यक्त गरे । उनीहरुको खुसी देख्दा मेरो आँखामा आँसु आएको थियो । खर्च कटाएर उनीहरुले मासिक ३ लाख लगभग जोगाएका थिए ।

डिजेलवालालाई महिनामा ४० हजार जोगाउन पनि हम्मे–हम्मे हुन्छ । यसरी इभी चलाउँदा सबैलाई फाइदा मात्रै छ । इभीमा चढ्ने यात्रुमा अन्य गाडीमा जस्तो बान्ता हुने समस्या पनि भएन । अनि मैले त्यसको कारण खोजें । त्यसको कारण मोसन सिकनेस रहेछ ।

डिजेल गाडीमा गियर परिवर्तन गर्दा धेरैचोटि स्लो हुने, रोकिने, झ्याप्प अगाडी जाने हुन्छ । त्यो समस्या इभीमा हुँदैन । त्यसैले इभीमा बमिट हुने समस्या पनि कम भो ।

सुरुमा हाम्रो माइक्रो भ्यान थोरै बिक्थ्यो, बिस्तार बिक्री बढ्दै गयो । धेरै व्यवसायीले माइक्रो ल्याउने विषयमा सोधे ।

मैले ल्याउन सहयोग पनि गरें । धेरै बिक्री हुन थालेपछि मैले ७२ वटा गाडी एकैपटक ल्याएँ । त्यो बेलामा भने हामीविरुद्ध खेल सुरु भयो । केहि ठुला व्यवसायी, भन्सार सबैले दुःख दिन थाले । फोल्डिङ सिट भएको गाडी मैले मात्रै ल्याए जसरी दुःख पाएँ ।

तथापि अहिले धेरै व्यापारीले माइक्रो इभी ल्याउन थालेपछि मलाई टार्गेट गर्ने कम भएका छन् । दुःख पाउन पनि कम भएको छ ।

तर मलाई कुनै दुःख छैन । किनकि मेरो परिकल्पना भनेको गाडी बेच्न मात्र नभएर नेपालमा इभी ईन्डस्ट्री नै स्थापना गर्ने हो ।

अहिले वर्षमा यो  इभी माइक्रो ४ हजार पिससम्म बिक्री हुन्छ । त्यो सबै मैले मात्रै बिक्री गर्ने त हैन ।

सिंधुली रुटमा माइक्रो बस लगभग चार वर्षअगाडि सुरु भएको थियो । त्यो इभीमा कुनै समस्या आएको छैन ।

आजको दिनसम्म त्यो गाडी ३ लाख किलोमीटर भन्दा बेसी कुदिसको र अझै आरामले चलिरहेको छ । कतिपय इभी प्रोडक्ट मैले ल्याएको चलेन । घाटा पनि सहनुपर्यो ।

तर, डिएफएसके माइक्रो भ्यानमा कुनै समस्या आएको छैन । फेरि अहिले साना–साना समस्या हामीले आफैं समाधान गर्न सक्ने पनि भएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *