केही दिन अगाडी कलंकी नागढुंगा हुँदै मलेखुसम्मको यात्रा गर्ने क्रममा निकै दुःख लाग्यो ।
नेपालकै प्रमुख राजमार्गको सडकमा दैनिक हजारौं सवारीसाधन गुड्ने, निकै चल्तीको हाइवेमा यात्रा गर्दा, धुलो नउड्ने ठाउँ नै भेटिएन भने हाइवेको सडक जताततै निर्माणाधिन भएकोले पनि ठूला – ठूला खाडल अनि अव्यवस्थित पाराको देशको प्रमुख नाकाको सडक भन्न पनि लाज लाग्ने ।
कसरी सम्बन्धित निकायका पदाधिकारीहरु चुपचाप बस्न सकेका होलान् भन्ने पनि लाग्यो ।
पुरै सडक सर्लक्क पिच गर्न नसकेपनि, धुलोरहित बनाउन सकिन्थ्यो, अनि त्यो खाल्डोहरु पुरेर आवतजावत सहज गर्न सकिन्थ्यो, तर यति थोरै पनि काम गर्न किन ध्यान गएन होला भन्ने लाग्यो ।
यो थोत्रो र कवाड सडकमा बल्लतल्ल गुडीरहेका त्यो चिल्ला कारहरु अनि करोडौँ पर्ने सर्लक्क परेका यात्रुबसहरु देख्दा कठैबरा भन्न मन लाग्यो ।
पछिल्लो पटक यो राजमार्गमा दुर्घटना भै अकालमा ज्यान जानेकोे संख्या पनि निक्कै बढिरहेको छ ।
लाग्छ कि, राजमार्ग नै यस्तो छ कि, धराप थापेजस्तो ।
राज्यले यत्रो लापरवाही गर्दा समेत केही नबोल्ने हामी सोझा जनताहरु देख्दा लाग्छ कि साँच्चै नै विर गोर्खाली हौ कि जस्तो पनि लाग्ने ।
यस्तो कवाड सडकमा पनि आनन्दले दुईपांग्रे सवारीसाधनहरु अनि हलुका सवारीसाधनहरु चलिरहेका छन् ।
यो राजमार्गमा यात्रा गर्दा, न त धुँलोले केही देख्छ, न त बाटो नै राम्रो छ ।
देशलाई सिंगापुर बनाउँछु भन्नेहरुले अब मात्र “सुन्दर शान्त नेपाल” बनाए पुग्छ, अरु भनेको पछि बनाउँदा हुन्छ ।
देशकै प्रमुख राजमार्गको यस्तो दुर्दशा हुँदा समेत केही काम गर्न नसक्ने ती विचरा पदाधिकारीहरुलाई दैनिक यात्रा गर्ने यात्रुहरुले कति सराप्छन् होला, हे भगवान्…
प्रकाशक – रोशनकुमार श्रेष्ठ/अटो नेपाल, मासिक पत्रिका