प्राकृतिक र साहसिक पर्यटनको लागि विश्वमा नै प्रख्यात हाम्रो देश नेपालमा बिस्तारै मोटरसाइकल पर्यटनको पनि बिकास हुँदै गएको छ।
काठमाडौं लेजेन्ड्स प्रालिले आगामी फागुन २५ देखि २८ गते सम्म विश्वमा नै प्रख्यात अन्नपुर्ण क्षेत्रको मनाङमा ‘मनाङ मेनिया’ कार्यक्रम गर्ने भएको छ ।
नेपालका विभिन्न जिल्लाहरुबाट व्यक्तिगत रुपमा र मोटरसाइकल क्लबहरुको रुपमा आउने सहभागीहरु मात्र नभई सो कार्यक्रममा भारत, भुटान, अस्ट्रेलिया, टर्कीबाट समेत गरी करिब १५० जनाको सहभागिता रहने छ ।
कार्यक्रममा स्थानीय न्येस्यांग गाउँपालिका, स्थानीय युवा समूह, आमा समुह र मनाङ जिल्लाका प्रदेश सभा सदस्यहरुको समेत सहयोग रहने छ ।
प्रति व्यक्ति ८ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको सो कार्यक्रममा सहभागीहरुलाई ३ रातको होटल बसाइ र खानाको व्यवस्था हुनेछ भने स्थानीय रमणीय स्थलहरुमा हाइकिङ, मोटरसाक्लिङ, सांगीतिक कार्यक्रम र अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश हुनेछन् ।
सहभागीहरुको बसाइ र मनोरञ्जनलाइ गुणस्तरीय बनाउनको लागि विभिन्न व्यावसायिक कम्पनीहरु प्रायोजकको रुपमा रहनेछन् ।
प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रालि आयातकर्ता भएको रोयल एनफिल्ड ब्रान्ड रहनेछ भने कवच गियर, गल्फ ल्युब, हुम्टो नेपाल, लिक्वी मोली नेपाल र खुकुरी रम सह प्रायोजक रहनेछन् ।
दालभात पावर, हिमालयन कफी, सिटाफेल, मास्टर ट्रेडर्स, दुइ पाङ्ग्रा, हार्ड ह्याट, प्रिन्ट एक्सप्रेस र केही मनकारी व्यक्तिहरु सहयोगीको रुपमा रहनेछन् ।
सहभागीहरुको स्वास्थ्य सुरक्षाको लागि सुमेरु सिटी अस्पताल र थसी सामुदायिक स्वास्थ्य सेवा केन्द्रको तर्फबाट हाइ अल्टिच्युड मेडिकल पोष्ट पनि कार्यक्रम स्थलमा रहनेछ।
सो कार्यक्रमको फोटो भिडियोहरु कार्यक्रम स्थलबाट सामाजिक सञ्जालहरुमा लाइभ हुनेछ भने औपचारिक भिडियो युट्युब लगायत विभिन्न माध्यमहरुमा प्रसारित भई त्यस क्षेत्रको प्रचार प्रसार र आर्थिक अवस्थामा पनि सकारात्मक असर पर्ने अपेक्षा गरिएको काठमाडौं लेजेन्ड्सका अध्यक्ष रमेश अवालले बताए ।
अस्पष्ट कानुनी व्यवस्थाका बावजुद पनि विभिन्न निजी क्षेत्रहरुबाट यस किसिमका पर्यटकीय क्रियाकलापहरु नियमित रुपमा संचालित छन्।
कोभिड–१९ को महामारी पश्चात अधोगति तर्फ लागेको नेपालको पर्यटन व्यवसायमा हाल केही सकारात्मक संकेतहरु देखिएको बताइएको छ ।