अब ट्रायलमा आफ्नो सवारी साधन प्रयोग गर्न पाउने

राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले आइतबार सात वटै प्रदेश सरकारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई निर्देशन दिएको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) को क्रममा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरुको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको सचिव स्तरीय निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको व्यवहोरा अनुरोध छ,’ सतर्कता केन्द्रको पत्रमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *