नेपाल इन्जरी अनुसन्धान केन्द्रको तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण मुलुकले प्रत्येक वर्ष १२२.८८ मिलियन युएस डलर (१६ अर्ब नौ करोड ७२ लाख ८० हजार रुपैयाँ (हालको विनिमय दरअनुसार) गुमाउँदै आएको छ ।
यो भनेको कुल राष्ट्रिय उत्पादन (जिएनपी)को १.५२ प्रतिशत हो । नेपालमा प्रत्येक वर्ष सरदर दुई हजार पाँच सय ५५ जना (प्रतिदिन सातजना)ले सवारी दुर्घटनाका कारण ज्यान गुमाउने प्रहरीको तथ्यांकले देखाउँछ ।
क्षतिको यो तथ्यांक केन्द्रले प्रहरीमा दर्ता भएका घटनालाई मात्रै आधार मानेर निकालेको हो ।
केन्द्रका अनुसार प्रहरीमा कुल सवारी दुर्घटनाको १९.७ प्रतिशत मात्रै घटना दर्ता हुन्छन् ।
सवारी दुर्घटनाको क्षति विवरण निकाल्न केन्द्रले नेपाल प्रहरीमा सन् २०१७ मा भएको सवारीसाधन दुर्घटनाको तथ्यांकलाई आधार बनाएको थियो ।
यसका लागि केन्द्रले बेलायतस्थित युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डको सहयोग लिएको थियो ।
सवारी दुर्घटनाका कारण मुलुकले प्रत्येक वर्ष गुमाउने आर्थिक क्षति निकाल्न डाइरेक्ट मेडिकल कस्ट (प्रत्यक्ष) र इनडाइरेक्ट मेडिकल कस्ट (अप्रत्यक्ष)लाई आधार बनाएको थियो ।
केन्द्रका अनुसार डाइरेक्ट मेडिकल कस्टतर्फ मुलुकले प्रत्येक वर्ष ९१.५७ मिलियन युएस डलर (११ अर्ब १७ करोड १५ लाख ४० हजार रुपैयाँ) र इनडाइरेक्ट मेडिकल कस्टतर्फ ११.५० मिलियन युएस डलर (एक अर्ब ४० करोड ३० लाख रुपैयाँ) सवारी दुर्घटनाका कारण मात्रै मुलुकले गुमाउँदै आएको छ ।
केन्द्रका अनुसार सवारी दुर्घटनाका मृतक तथा घाइते हुँदा भएको खर्च, जीवनभर उसबाट हुन सक्ने आम्दानी, मृतक तथा घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, खर्च गरिएका समयजस्ता विषयमा अनुसन्धान गरिएको थियो ।
नेपाल इन्जरी अनुसन्धान केन्द्रका निर्देशक डा. सुनीलकुमार जोशीले नेपालमा प्रत्येक वर्ष भएका सवारी दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिले मुलुकको कुल जिएनपीमा चार प्रतिशत क्षति पुग्ने बताए ।
‘प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा पनि दुर्घटनाबाट भएका क्षतिको कारण मुलुकले प्रत्येक वर्ष कुल जिएनपीको चार प्रतिशत क्षति व्यहोर्दै आएको छ,’ उनले भने ।