सवारी दुर्घटना हुँदा प्रत्येक वर्ष कुल जिडिपीको चार प्रतिशत घाटा

नेपाल इन्जरी अनुसन्धान केन्द्रको तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण मुलुकले प्रत्येक वर्ष १२२.८८ मिलियन युएस डलर (१६ अर्ब नौ करोड ७२ लाख ८० हजार रुपैयाँ (हालको विनिमय दरअनुसार) गुमाउँदै आएको छ ।

यो भनेको कुल राष्ट्रिय उत्पादन (जिएनपी)को १.५२ प्रतिशत हो । नेपालमा प्रत्येक वर्ष सरदर दुई हजार पाँच सय ५५ जना (प्रतिदिन सातजना)ले सवारी दुर्घटनाका कारण ज्यान गुमाउने प्रहरीको तथ्यांकले देखाउँछ ।

क्षतिको यो तथ्यांक केन्द्रले प्रहरीमा दर्ता भएका घटनालाई मात्रै आधार मानेर निकालेको हो ।

केन्द्रका अनुसार प्रहरीमा कुल सवारी दुर्घटनाको १९.७ प्रतिशत मात्रै घटना दर्ता हुन्छन् ।

सवारी दुर्घटनाको क्षति विवरण निकाल्न केन्द्रले नेपाल प्रहरीमा सन् २०१७ मा भएको सवारीसाधन दुर्घटनाको तथ्यांकलाई आधार बनाएको थियो ।

यसका लागि केन्द्रले बेलायतस्थित युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डको सहयोग लिएको थियो ।

सवारी दुर्घटनाका कारण मुलुकले प्रत्येक वर्ष गुमाउने आर्थिक क्षति निकाल्न डाइरेक्ट मेडिकल कस्ट (प्रत्यक्ष) र इनडाइरेक्ट मेडिकल कस्ट (अप्रत्यक्ष)लाई आधार बनाएको थियो ।

केन्द्रका अनुसार डाइरेक्ट मेडिकल कस्टतर्फ मुलुकले प्रत्येक वर्ष ९१.५७ मिलियन युएस डलर (११ अर्ब १७ करोड १५ लाख ४० हजार रुपैयाँ) र इनडाइरेक्ट मेडिकल कस्टतर्फ ११.५० मिलियन युएस डलर (एक अर्ब ४० करोड ३० लाख रुपैयाँ) सवारी दुर्घटनाका कारण मात्रै मुलुकले गुमाउँदै आएको छ ।

केन्द्रका अनुसार सवारी दुर्घटनाका मृतक तथा घाइते हुँदा भएको खर्च, जीवनभर उसबाट हुन सक्ने आम्दानी, मृतक तथा घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, खर्च गरिएका समयजस्ता विषयमा अनुसन्धान गरिएको थियो ।

नेपाल इन्जरी अनुसन्धान केन्द्रका निर्देशक डा. सुनीलकुमार जोशीले नेपालमा प्रत्येक वर्ष भएका सवारी दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिले मुलुकको कुल जिएनपीमा चार प्रतिशत क्षति पुग्ने बताए ।

‘प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा पनि दुर्घटनाबाट भएका क्षतिको कारण मुलुकले प्रत्येक वर्ष कुल जिएनपीको चार प्रतिशत क्षति व्यहोर्दै आएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *