टेस्लामा आफ्नो हिस्सा बढाउन चाहन्छन् एलन मस्क

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका हाकिम एलन मस्कले कम्पनीमा आफ्नो स्वामित्व ह्वात्तै बढाउन चाहेका छन् ।

अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्ग र फोब्र्सको अर्बपतिको सूचिअनुसार मस्क अहिले नै पृथ्वीको सर्वाधिक धनी व्यक्तिहरूको सूचिमा शीर्ष स्थानमा छन् ।

कम्पनीको शेयरमा आफ्नो स्वामित्व २५ प्रतिशत आसपास पुर्‍याउने गरी आफूलाई अधिकार नदिएसम्म टेस्ला कृत्रिम बौद्धिकता र रोबोटिक्समा ‘लिडर’ बनोस् भन्ने आफूले चाहँदै नचाहेको माइक्रोब्लगिङ वेबसाइट एक्समा मंगलबार राति गरिएका शृङ्खलाबद्ध पोस्टमा मस्कले बताएका थिए ।

अहिले टेस्लामा मस्कको शेयर हिस्सा १३ प्रतिशत जति छ ।

कम्पनीमा २५ प्रतिशत मताधिकार आफ्नो पक्षमा नहुँदासम्म टेस्लालाई एआई र रोबोटिक्समा लिडर बनाउन आफू सहज नभएको एउटा पोस्टमा मस्कले लेखेका छन् ।

त्यति शेयर स्वामित्व नपाउने हो भने टेस्ला बाहिर नै प्रडक्ट बनाउन रुचाउने पनि उनको भनाई थियो ।

४४ अर्ब डलर खर्चेर एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि टेस्लामा मस्कको २० प्रतिशतभन्दा धेरै स्वामित्व थियो । विद्युतीय सवारी साधन बजारमा टेस्ला मार्केट लिडर नै हो ।

तर पछिल्लो समय परम्परागत सवारी साधन निर्माता कम्पनीहरूले समेत विद्युतीय सवारी साधन बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा चुलिएको छ ।

यस्तोमा कम्पनीको भविष्य एआई र रोबोटिक्समा भएको मस्कले बताउँदै आएका छन् ।

टेस्लामा मस्कले कयौं वर्ष सेवा सुविधा बढ्ने योजना बिनै काम गरे । सन् २०१८ मा कम्पनीको प्रदर्शनका आधारमा उनले तलब र सेवा सुविधामै ५६ अर्ब डलर सम्म पाउने प्याकेजको घोषण गरियो ।

यो सीईओको इतिहासको सबैभन्दा ठूलो तलब सुविधा थियो । यस मामिलामा कम्पनी र मस्कमाथि गएको वर्ष शेयरधनीहरूले मुद्दा नै हाले ।

मस्कको पछिल्लो मागबारे कम्पनी र शेयरधनीहरुबाट कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *