आयल निगमको धनगढी डिपोभित्रै ट्यांकरमा त्रिपाल ओढाएर ‘तेल चोरी’

तापक्रम नोक्सानीको ‘लुप होल’ प्रयोग गरेर तेल चोरी गर्न आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी डिपोभित्र त्रिपाल ओढाएका ट्यांकरलाई निर्वाध प्रवेश गर्न दिने गरेको भेटिएको छ ।

निगमको धनगढी डिपोले इन्डियन आयल कर्पोरेसन (आइओसी)को उत्तर प्रदेशस्थित बन्थरा डिपोबाट पेट्रोल र डिजेल आयात गर्दै आएको छ ।

तापक्रम नोक्सानीबापत हुने ‘वैधानिक चुहावट’को फाइदा उठाउन नियमित रूपमा ती ट्यांकरमा त्रिपाल ओढाएर ल्याउने गरेको स्रोतको भनाइ छ ।

विगतमा डिपोनजिकै बाटोमा त्रिपाल छाड्ने गरिन्थ्यो, तर पछिल्लो समय भने डिपोभित्र तेल खन्याउने स्थानसम्मै त्रिपाल ओढाएका ट्यांकर पुग्ने गरेका छन् ।

ट्यांकरलाई त्रिपालले ढाक्नबाट निरुत्साहित गर्नुपर्नेमा आयल निगमको धनगढी डिपो प्रमुख मोहनकुमार साह र अपरेसन हेड खगेन्द्र अधिकारीले समेत बेवास्ता गर्दा चालक–सहचालकको मनोबल बढ्दै गएको कर्मचारीहरू बताउँछन् ।

‘ट्यांकरलाई त्रिपालले छोप्न प्रतिबन्ध लगाउने नीति छ, तर धनगढी डिपोमा भने लोडिङ–अनलोडिङ क्षेत्रभित्रै त्रिपाल ओढाएका ट्यांकर पुग्ने गरेका छन्,’ धनगढी डिपोमा कार्यरत एक कर्मचारीले भने ।

नेपालको भन्दा भारतको तापक्रम उच्च छ । त्यसैले भारतको तातो तापक्रममा हालेको तेल नेपालको चिसो ठाउँमा आउँदा खुम्चिने (घट्ने) अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै निगमले तापक्रम नोक्सानी छुट्याउने गरेको छ ।

यस्तो तापक्रम नोक्सानीबापत धनगढी डिपोमा पेट्रोल ०.५७ प्रतिशत र डिजेल ०.३२ प्रतिशत अधिकतम चुहावट हुने लक्ष्य निर्धारण गरिएको छ ।

यो लक्ष्यभित्रै रहने गरी धनगढी डिपो प्रमुख साहको संलग्नतामा पेट्रोल–डिजेल चोरी हुने गरेको स्रोतको भनाइ छ ।

अहिले बन्थरा डिपोको तुलनामा धनगढी डिपोको तापक्रममा चार–पाँच डिग्री फरक पर्ने गरेको छ ।

एक डिग्री चिसो हुँदा प्रतिचेम्बर १५ लिटरसम्म तेल कम हुने मान्यता छ ।

बारम्बार पानी छ्यापेर चिसो बनाइएको त्रिपाल ओढाएर ट्यांकरलाई चिसो बनाउँदा कृत्रिम रूपमा थप एक डिग्री तापक्रम घट्ने र २० किलोलिटरको ट्यांकरबाट करिब ९० लिटरसम्म तेल झिकेर चुहावट भएको भनी दाखिला गर्न मिल्छ ।

यसरी चोरेर झिकेको ९० लिटर तेल भने धनगढी डिपोले संस्थागत तापक्रम नोक्सानीमा देखाएर मिलान गर्ने गरेको छ ।

ट्यांकरमा चिसो त्रिपाल ओडाएर तेल चोर्ने प्रवृत्ति बढेकै कारण साह धनगढी कार्यालय प्रमुख भएयता चुहावटदर पनि बढेको छ ।

निगम स्रोतका अनुसार साह कार्यालय प्रमुख हुनुअघिसम्म चुहावटदर पेट्रोलको ०.१३ प्रतिशत र डिजेलको ०.१८ प्रतिशत थियो ।

अहिले चुहावटदर बढेर पेट्रोलको ०.२० प्रतिशत र डिजेलको ०.३० प्रतिशत पुगेको छ । डिजेलको चुहावटदर लक्ष्यनजिकै पुग्दासमेत केन्द्रीय कार्यालयले हस्तक्षेप गरेको छैन ।

त्रिपाल ओढाएर तेल चोरी गर्ने प्रवृत्ति बढ्दै गए पनि कार्यालय प्रमुख साहले भने कुनै समस्या नरहेको जिकिर गरे ।

‘यस क्षेत्रको पेट्रोलियम कारोबारमा कुनै समस्या छैन’ उनले नयाँ पत्रिकासँग भने, ‘विगतमा कुनै वेला त्रिपाल ओढेका ट्यांकरहरू डिपोमा देखिएको र त्यही वेला कसैले फोटो खिचेको हुन सक्छ ।’

उनले आफ्नो डिपोमा आउने ट्यांकरमा त्रिपालले छोप्न प्रतिबन्ध नै लगाएको जिकिर गरे ।

करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहको कमजोर व्यवस्थापकीय कार्यक्षमताका कारण धनगढीमा पटक–पटक इन्धन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले ६ मंसिरमा लिखित स्पष्टीकरण नै सोधेको थियो ।

जिप्रकाको स्पष्टीकरणमा ‘आवश्यक सेवाको अटुट सञ्चालन कायम राख्न नसकेकाले ऐनअनुसार कारबाही किन नगर्ने ?

यदि कारबाही नगर्ने कारण भए सोको स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन’ निर्देशन दिइएको थियो ।

त्यसपछि डिपो प्रमुख साह लिखित स्पष्टीकरणसहित उपस्थित भएपछि जिप्रकाले सचेत गराएको थियो ।

यसरी जिल्ला प्रशासन कार्यालयले आयल निगमको डिपो प्रमुखलाई लिखित स्पष्टीकरण सोधेको घटना बिरलै छन् ।

डिपो प्रमुख साहको कार्यशैलीलाई लिएर सुदूरपश्चिमका पेट्रोलियम व्यवसायीले गुनासो गर्दै आएका छन् ।

डिपोमा तेल नभएको भन्दै पेट्रोलपम्पलाई तेल नदिने र मागअनुसार तेल लिनुपर्दा डिपो प्रमुखलाई अतिरिक्त रकम बुझाउनु परेको भन्दै पेट्रोलम्प व्यवसायीले केन्द्रीय कार्यालयमा गुनासो गर्दै आएका छन् ।

त्यस्तै, इन्धन लिन भारत जाने नियमित पालो प्रणालीमा ट्यांकरलाई लाइनमा राख्नसमेत डिपो प्रमुखलाई अतिरिक्त रकम बुझाउनुपरेको ट्यांकरधनीले गुनासो गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *