नेपाल उद्योग परिसंघ (सिएनआई)ले अर्थतन्त्र मन्दीमा रहेको तथ्य लुकाएर सरकारले आफूअनुकूल प्रचारबाजी गरेको आरोप लगाएको छ ।
सिएनआईले गरेको एक सर्वेक्षण सोमबार सार्वजनिक गर्दै अध्यक्ष राजेश अग्रवालले पछिल्ला तीन त्रैमासको आर्थिक वृद्धिदरको तथ्य लुकाएर सरकारले आफूअनुकूलका सकारात्मक सूचक मात्रै प्रचार गरेको बताए ।
‘गत आर्थिक वर्षको पहिलो दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक छ । त्यसपछिका कुनै पनि त्रैमासको आर्थिक वृद्धिदरको तथ्यांक सरकारले सार्वजनिक गरेको छैन ।
केही सूचक देखाएर अर्थतन्त्र सकारात्मक बन्दै गइरहेको सरकारको दाबी छ,’ उनले भने, ‘अर्थतन्त्रको वास्तविक चित्र कुल गार्हस्थ्य उत्पादनले देखाउने हो ।
तर, विगत तीन त्रैमासदेखि सरकारले सार्वजनिक गरिरहेको छैन ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयअघि अर्थतन्त्रका सूचकहरू सार्वजनिक गर्दै देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका थिए ।
आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारीसमेत गरिरहेको सरकारले देशमा लगानीको वातावरण अनुकूल भएको सन्देश दिने उद्देश्यले अर्थतन्त्रमा सुधार आइरहेको बताउँदै आएको छ ।
तर, परिसंघले भने अर्थतन्त्र अझै मन्दीमा रहेको जिकिर सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ०७०/७१ मा आर्थिक वृद्धिदर ६.०१ प्रतिशत रहेकोमा ०७३/७४ मा ८.९८ प्रतिशत पुगेको थियो । ‘०७६/७७ मा ऋणात्मक रहेको आर्थिक वृद्धिदर ०७९/८० मा १.८६ प्रतिशत कायम थियो,’ उनले भने, ‘यो वास्तविक मूल्यमा आधारित तथ्यांक हो ।
सरकारले २.८६ भनिरहेको छ, जुन प्रचलित मूल्यमा आधारित हो । सरकारले तेस्रो र चौथो त्रैमासको तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।’
प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्ने तथ्य सरकारले लुकाएको उनको आरोप छ ।
पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको सरकार तथा नियामकीय निकायले केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गरे पनि परिसंघले खण्डन गरेको हो ।
अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइरहँदा सरकारको यस्तो जिकिरलाई जनस्तर, निजी क्षेत्रले अनुभव गर्न नपाएको उनको भनाइ छ ।