नेपालमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, सिर्जना तथा स्थानीय आविष्कार र आएडियालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुने भएको छ ।
आगामी मंसिर ११ गते शुक्रबार काठमाडौं विश्वविद्यालयको हल, धुलिखेलमा आयोजना हुने उक्त कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
‘इनोभेसन, एक्सप्लोरेसन, ट्रान्सफरमेसन’ नाराका साथ आयोजना हुन लागेको अटोनेपालिका मोटरिङ नेपाल र अभियन्ताको संयुक्त आयोजना तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा हुन लागेको हो ।
कार्यक्रममा अटोमोबाइल, मेकानिकल तथा यातायात इन्जिनियरिङका विद्यार्थी, अध्येता, प्राध्यापक, स्वतन्त्र आविष्कारक, उद्योग क्षेत्रका प्रतिनिधि तथा अटोमोबाइलप्रेमीहरूको सहभागिता रहनेछ ।
अटोनेपालिकामा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थी तथा इनभेन्टरले निर्माण गरेका काटर्स, कार, ड्रोन, नमुना सवारीसाधन तथा अन्य प्राविधिक सिर्जनाहरू प्रदर्शन गरिनेछन् । साथै, नेपालमै विकसित स्थानीय आविष्कार तथा अटोमोबाइलसम्बन्धी नवीन प्रविधिहरूलाई पनि प्रदर्शनीमा राखिने छ । विद्युतीय सवारीसाधन, विद्युतीय सवारी रूपान्तरण, हाइब्रिड प्रणाली तथा वैकल्पिक इन्धन प्रविधिसम्बन्धी प्रयोग र आविष्कारलाई विशेष प्राथमिकता दिइनेछ ।
यसका अतिरिक्त नेपालका ऐतिहासिक तथा पुराना सवारीसाधनसम्बन्धी पोस्टर र भिडियो प्रदर्शनी, अटोमोबाइलका उपकरण तथा आधुनिक प्रविधियुक्त सामग्रीहरूको प्रदर्शन र विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
कार्यक्रमअन्तर्गत ‘शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल’ शीर्षकमा नेपाली शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल उद्योगबीचको सम्बन्ध, सम्भावना तथा सहकार्यका विषयमा प्यानल छलफल हुनेछ । त्यस्तै, ‘काठमाडौं उपत्यकाकोे मोबिलिटीः हिजो आज र भोली’ शीर्षकमा काठमाडौं उपत्यकाको वर्तमान यातायात प्रणाली, चुनौती र सम्भावित समाधानबारे छलफल गरिनेछ ।
काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विद्यार्थी संघको वार्षिक कार्यक्रम ‘अभियन्ता’को राष्ट्रिय कार्यक्रमको सन्दर्भमा आयोजना हुन लागेको अटोनेपालिकाले शैक्षिक संस्था, विद्यार्थी, आविष्कारक र अटोमोबाइल उद्योगबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने अनुमान गरिएको छ ।