अविरल वर्षाका कारण काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने अन्य दुई घर र एक गोठमा क्षति पुगेको छ।
शनिबार बिहान करिब ८ः४० बजे माथिबाट बगेर आएको ग्राभेलसहितको लेदोले स्थानीय शेरबहादुर तामाङको एकतले घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले जानकारी दिए।
घर पुरिएपछि हाल छानाको जस्ता मात्र देखिएको छ। तामाङकै अर्को तीनतले घरभित्र समेत लेदो पसेको छ।
त्यस्तै, स्थानीय हर्कबहादुर तामाङको तीनतले घरमा पनि लेदोसहितको भल पसेको छ भने घर नजिकै रहेको काठ र जस्तापाताले बनेको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनालगत्तै प्रहरी चौकी खोपासीबाट खटिएको टोलीले दुवै परिवारका आठ–आठ जना गरी १६ जनाको सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।