दसैंका लागि मध्यम तथा लामो दूरीका सवारीको रुट परमिट खुला

आश्विन २५, २०८३ । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारीसाधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी आजदेखि रुट परमिट खुला गरेको छ ।

घटस्थापनादेखि १० कात्तिकसम्म रुट परमिट खुला गर्ने निर्णय भएको हो । अब काठमाडौं उपत्यकामा गुडिरहेका सवारीसाधनले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।

चाडबाडमा यातायात आवागमन सहज बनाउन ट्रेलर लगायत ठूला सवारीसाधनलाई घटस्थापनादेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्मको खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

१५ स्थानमा यात्रु सहायता कक्ष खोलिसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नयाँ बसपार्क गेट, बल्खु चोक, फर्पिङ चोक, कलंकी, नागढुंगा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले चोक, टोखा चेकपोस्ट, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएका छन् ।

दसैंका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ भने शुक्रबारदेखि खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *