गत भदौ १० गते आएको बाढीले फलाखु खोलास्थित पुल बगाएपछि उक्त क्षेत्रमा सडक सम्पर्क विच्छेद भएको थियो । पुल क्षतिग्रस्त भएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन सडक विभाग र स्थानीय प्रशासनले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि नयाँ मोडुलर एक्रो ब्रिज जडान गरिएको हो ।
आइतबार बिहान ११ बजे पुलको उद्घाटन गरी सवारीसाधनलाई आवतजावतको अनुमति दिइएको जनाइएको छ । पुल सञ्चालनमा आएसँगै रसुवाको उक्त क्षेत्र हुँदै हुने यातायात तथा दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।
सडक सम्पर्क पुनः स्थापित भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। यससँगै अवरुद्ध यातायात सेवा सामान्य बन्ने र स्थानीय जनजीवन सहज हुने विश्वास गरिएको छ ।