अप्रिलियाले भारतमा दुई नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ एसएक्सआर जीटी १२५ र एसएक्सआर जीटी १७५ दुई स्कुटरको बिक्री सुरू गरेको हो ।
अप्रिलियाले भारतीय बजारमा अप्रिलिया जीटी १२५ को मूल्य १ लाख ९ हजार ९९९ र जीटी १७५ को मूल्य १ लाख २९ हजार ९९९ भारु (एक्स शोरुम महाराष्ट्र) तोकेको छ ।
जीटी १२५ को तुलनामा जीटी १७५ को मूल्य २० हजार भारु बढी छ । बढी क्षमताको इन्जिनबाहेक १७५ मोडलमा ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट डिस्प्ले र सिंगल-च्यानल एबीएस उपलब्ध छ । यो फिचर जीटी १२५ मा उपलब्ध छैन । यसमा एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ ।
दुवै स्कुटर तीन नयाँ कलर विकल्पमा उपलब्ध छन् । दुवै मोडलमा नयाँ ग्राफिक्स प्रयोग गरिए पनि कम्पनीले एसएक्सआरको परिचित डिजाइनलाई निरन्तरता दिइएको छ । चौडा फ्रन्ट फेयरिङ, अग्लो विन्डस्क्रीन र तीन भागमा विभाजित एलईडी हेडलाइट सेटअपले यी स्कुटरलाई म्याक्सी-स्कुटरको लुक दिएको छ ।
जीटी १७५ मा १७४.७ सीसीको सिंगल-सिलिण्डर, एयर-कुल्ड इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम १३.९ बीएचपी र १४.१४ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, जीटी १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर, एयर-कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम १०.४६ बीएचपी र १०.४ एनएम टर्क उत्पादन गर्छ । यी दुवै स्कुटरको इन्जिन अप्रिलियाको नयाँ एचपी-ई प्लेटफर्ममा आधारित छन् ।