स्कुटरमा आकर्षित हुँदै उपभोक्ता

नेपालमा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को प्रयोग बढ्दो क्रममा छ । सार्वजनिक यातायात सहज, छिटो र भरपर्दो नहुँदा आमसर्वसाधरण बाध्यात्मक रूपमा दुईपाँग्रे निजी सवारीतर्फ आकर्षित भइरहेका हुन् ।

साथै, पछिल्लो समय राइड सेयरिङ, फुड डेलिभरी, कुरियर लगायतका सेवामा रोजगारी बढेसँगै दुईपाँग्रे सवारीको प्रयोग बढ्न थालेको हो ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार देशभर (गत फागुनसम्म) कुल साढे ६२ लाख सवारी दर्ता भएका छन् । तीमध्ये करिब ८० प्रतिशत अर्थात् साढे ५० लाख दुईपाँग्रे रहेका छन् । पछिल्लो साढे ५ वर्षमा मात्रै झण्डै ११ लाख दुईपाँग्रे सवारी आयात भएको भन्सार तथ्यांक छ ।

दुईपाँग्रे सवारीमा मोटरसाइकल र स्कुटर विकल्प छ । जसमा उपभोक्ताहरू पछिल्लो समय मोटरसाइकलभन्दा स्कुटरतर्फ आकर्षित भइरहेको देखिन्छ । वर्षेनी कुल आयातमा स्कुटरको हिस्सा बढ्दो छ भने मोटरसाइकलको घट्दो छ । ६ वर्षअघि कुल आयातमा स्कुटरको हिस्सा एकतिहाई रहेकोमा हाल झण्डै आधा पुग्न लागेको छ ।

मोटरसाइकलको तुलनामा स्कुटर चलाउन निकै सजिलो र व्यवहारिक हुनु, सहरी क्षेत्रका लागि उपयोगी, धेरै सामान राख्ने सुविधा, मोटरसाइकल जस्तै शक्तिशाली र आधुनिक फिचर भएका स्कुटर आउनु, माइलेज बढी हुनु लगायत कारणले स्कुटरतर्फ आकर्षण बढेको हो ।

लामो यात्रा गर्ने, टुरिङ पारखी, युवा पुस्ता लगायतले मोटरसाइकल मन पराए पनि दैनिक कामकाजी, नयाँ चालक, महिला, विद्यार्थी, पाका उमेरका व्यक्तिहरूको रोजाइमा भने स्कुटर परेको देखिन्छ ।

हाल नेपाली बजारमा करिब ३ दर्जन (पेट्रोल र ईभी) बढी ब्राण्डका स्कुटर उपलब्ध छन् । यद्यपि, करिब १ दर्जन ब्राण्डै मात्रै स्थापित हुन सकेको देखिन्छ । बजारमा टीभीएस, यामाहा, हिरो, होण्डा, सुजुकी, एथर, टेलजी, चेतक, याडिया लगायत ब्राण्ड उपभोक्ताको नजरमा परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *