चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) को पछिल्लो नयाँ सवारी दर्ता विवरण अनुसार, कार निर्माता कम्पनी अबतारले आफ्नो नयाँ ६ सिटर प्लग–इन हाइब्रिड एसयूभी टी०९ दर्ता गराएको छ ।
तर यसको नयाँ स्वरूपले कम्पनीले आफ्नो परम्परागत र अद्वितिय डिजाइन शैली त्यागेको संकेत गर्छ । नयाँ टी०९ को बाहिरी रूप बीवाईडी याङवाङ यू८ सँग मिल्दोजुल्दो देखिएको छ ।
यस गाडीको लम्बाइ ५,२८५ मिमी, चौडाइ २,०२५ मिमी, उचाइ १,८१० वा १,८२० मिमी र व्हीलबेस ३,१५० मिमी रहेको छ । गाडीमा ६ जना यात्रु बस्न सक्ने क्षमता छ । अबतारा टी०९ दुई प्रकारका इन्जिन विकल्पमा आउने उल्लेख गरिएको छ ।
दुवै संस्करणमा क्याटलद्वारा निर्मित ७१.२४ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री राखिएको छ र यसको अधिकतम गति २२० किमी/घण्टा रहेको छ । पहिलो संस्करणमा १.५ लिटर इन्जिनसँगै डुअल मोटर सेटअप छ जसमा अगाडिको मोटर १८० किलोवाट र पछाडिको मोटर ३१० किलोवाटको रहेको छ ।
दोस्रो संस्करणमा २.० लिटर इन्जिनसँगै ट्रिपल मोटर सेटअप राखिएको छ जसमा अगाडि १८० किलोवाट तथा पछाडि देव्रे र दाहिने दुवैतर्फ २२५/२२५ किलोवाट क्षमतका मोटरहरू रहेका छन् ।
अबतारका गाडीहरु यसअघि आफ्नै फरक र आधुनिक डिजाइनका लागि परिचित थिए । तर अगस्ट महिनामा बिक्रीमा आएको १९.७ प्रतिशतको गिरावटपछि कम्पनीले आफ्नो डिजाइन शैलीमा परिवर्तन गरेको अनुमान गरिएको छ ।