परेवाभिर सडक मर्मतमा, यात्रा प्रभावित

काठमाडौं । पृथ्वी राजमार्गको परेवाभिर खण्डमा आज सडक मर्मत गरिने भएपछि १२ घण्टा यातायात सञ्चालन नहुने भएको छ ।

गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । मर्मत कार्यका क्रममा उक्त सडक भएर चल्ने एम्बुलेन्स र शववाहनबाहेकका सवारीसाधनलाई आवतजावतमा रोक लगाइनेछ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि परेवाभिर क्षेत्रमा सडकमा क्षति पुगेको थियो । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गका परेवाभिर र कृष्णभीरलगायतका स्थानमा सडक प्रभावित भएको प्रशासनले जनाएको छ ।

सडकमा क्षति भएपछि परेवाभिर खण्ड हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो । थप क्षति रोक्न तथा सडकलाई आवश्यक अवस्थामा ल्याउन मर्मत कार्य गर्न लागिएको हो ।

प्रशासनले सडक बन्द रहने समयलाई मध्यनजर गर्दै यात्रु तथा चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । साथै, मर्मतका कारण यात्रु तथा सवारीसाधनमा पर्न सक्ने असुविधाप्रति प्रशासनले क्षमायाचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *