चीनबाट नेपाललाई बेलीब्रिजसहित आपत्कालीन सामग्री हस्तान्तरण

काठमाडौं । बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई बेलीब्रिज निर्माणका सामग्रीसहित आपत्कालीन राहत सामग्री प्रदान गरेको छ ।

शुक्रबार सिगात्सेस्थित रिझी नाकामा आयोजित कार्यक्रममा चिनियाँ पक्षले उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

प्राप्त सामग्रीबाट दुईवटा बेलीब्रिज निर्माण गर्न सकिने जनाइएको छ । त्यसका लागि आवश्यक बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, डेकिङ तथा आई–बिमलगायतका उपकरण नेपाललाई उपलब्ध गराइएको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडकमार्ग पुनः सञ्चालन गरी प्रभावित क्षेत्रलाई सडक सञ्जालसँग जोड्न यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ ।

यसैबीच, ल्हासामा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र नेपाली महावाणिज्य दूतावासबीच पनि सहयोग सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए ।

विपद्पछि तत्कालै सहयोगका लागि अघि सरेको भन्दै नेपाली पक्षले चीनप्रति आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *