बीवाईडीको नयाँ सीलियन ०८ चिनियाँ बजारमा सार्वजनिक, ९०० किलोमिटरसम्मको रेन्ज

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो नयाँ प्रिमियम एसयूभी ‘सीलियन ०८’ चिनियाँ बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो एसयूभीलाई प्लग–इन हाइब्रिड (PHEV) र ब्याट्री इलेक्ट्रिक (BEV) दुवै विकल्पमा बजारमा ल्याएको हो ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको सीलियन ०८ को चिनियाँ बजारमा सुरुवाती मूल्य ३३ हजार ८ सय अमेरिकी डलर तोकिएको छ । यसको उच्चतम भेरियन्टको मूल्य भने ४१ हजार २ सय अमेरिकी डलरसम्म पुग्छ ।

बीवाईडीले सीलियन ०८ लाई आफ्नो ‘ओसियन एस्थेटिक्स २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित भएर तयार गरेको हो । एसयूभीको अगाडि १३२ वटा उच्च क्षमताका एलईडी लाइटसहितको ‘आइस आई’ डे–टाइम रनिङ लाइट राखिएको छ । पछाडितर्फ १,९८२ एमएम लामो टेललाइट दिइएको छ ।

५,११५ एमएम लामो, १,९९९ एमएम चौडा र १,८०० एमएम अग्लो सीलियन ०८ को ह्विलबेस ३,०३० एमएम रहेको छ । यसलाई ग्राहकले ५–सीटर र ६–सीटर कन्फिगरेसनमा छनोट गर्न सक्नेछन् ।

प्रविधियुक्त प्रिमियम क्याबिन

सीलियन ०८ को इन्टेरियरलाई प्रिमियम र प्रविधिमैत्री बनाइएको छ । यसमा १७.३ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २६ इन्चको एआर–एचयूडी उपलब्ध छ ।

पछाडिका यात्रुको मनोरञ्जनका लागि २१.४ इन्चको सिलिङ स्क्रिन राखिएको छ भने २५ वटा स्पिकरसहितको डेवियालेट साउन्ड सिस्टम पनि दिइएको छ ।

त्यसैगरी, क्याबिनमा ७.३ लिटर क्षमताको रेफ्रिजरेटर, अगाडिका सिटमा १०–पोइन्ट मसाज फङ्सन र ६–सीटर भेरियन्टमा जिरो–ग्राभिटी सिटको सुविधा उपलब्ध छ ।

९०० किलोमिटरसम्मको रेन्ज

सीलियन ०८ को ब्याट्री इलेक्ट्रिक भेरियन्टमा ११५.०७२ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । सिंगल र डुअल मोटर विकल्पमा उपलब्ध यो भेरियन्टले सीएलटीसी परीक्षणअनुसार ८०० देखि ९०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

प्लग–इन हाइब्रिड भेरियन्टमा भने ५५.८४३ किलोवाट आवरको ब्याट्रीसँगै १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ३५० देखि ४०० किलोमिटरसम्मको प्योर इलेक्ट्रिक रेन्ज र कुल १,६५० किलोमिटरसम्मको संयुक्त रेन्ज दिने दाबी गरिएको छ ।

सवारीको ड्राइभिङ तथा कम्फर्टलाई थप सुधार गर्न सीलियन ०८ मा ‘डिसस–ए’ एयर सस्पेन्सन र ‘गाड्स आई ५.०’ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसमेत समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *