उता रसुवा भन्सार कार्यालयमा पनि बाढीले ठूलो वितण्डा मच्चाएको छ ।
भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि राखिएका ट्रक तथा अन्य गाडीहरु गरी ३०० देखि ४०० को हाराहारीमा सवारीसाधन बाढीले बगाएको छ ।
भन्सार क्षेत्रमा चेकजाँचको क्रममा रहेका अन्य सामग्रीहरु पनि बाढीमा बगेका छन् ।
भौतिक क्षतिका साथसाथै बाढीका कारण मानवीय जोखिम पनि बढेको छ । अर्थमन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयका ५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार रसुवा भन्सारमा ३६ जनाको स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना मात्र सम्पर्कमा आएका छन् ।
त्यस्तै, ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना मात्र सम्पर्कमा आएका छन् ।