रसुवाको बाढीमा मालवाहक सवारीसाधनमा ठूलो क्षति, केही व्यवसायी र मजदुर सम्पर्कविहीन

काठमाडौं । रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको भीषण बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुर प्रभावित भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ । यस्तै, बेत्रावती क्षेत्रमा पार्किङ गरी राखिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले उनीहरूलाई सम्बन्धित संस्था तथा सुरक्षा निकायको सम्पर्कमा आउन आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन महासंघले यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै, सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ ।

महासंघले विपद्को यस कठिन घडीमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *