काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले टाटा पन्च ईभी फेसलिफ्टमा विशेष छुट योजना ल्याएको छ । कम्पनीले ग्राहकलाई १ लाख रुपैयाँ छुट उपलब्ध गराएपछि पन्च ईभीको मूल्य अब ३२ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोको अवसरमा यो अफर सार्वजनिक गरेको हो । यसअघि पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
नयाँ फेसलिफ्ट मोडलले नेपाली बजारमा छोटो समयमै राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । दुई साताअघि नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको पन्च ईभीका १ हजारभन्दा बढी युनिट बुकिङ भइसकेका छन् भने हालसम्म करिब २०० युनिट ग्राहकलाई डेलिभरी गरिएको छ ।
पन्च ईभीमा ग्राहकले ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प पाउनेछन् । चार्जिङतर्फ यसले ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
कम्पनीका अनुसार पन्च ईभीको ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन करिब २६ मिनेट लाग्छ । त्यस्तै, १५ मिनेटको चार्जबाट करिब १३५ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।
डिजाइनमा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्चका एरो–अप्टिमाइज्ड एलोय ह्वील प्रयोग गरिएको छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टसँग मिल्दोजुल्दो डिजाइनका एलईडी टेललाइट राखिएका छन् ।
केबिनतर्फ पुरानै ड्यासबोर्ड लेआउटलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम फिनिस र अपडेटेड डुअल–टोन कलर थिम थपिएको छ । गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिनसँगै १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ ।
फिचरतर्फ पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । पार्किङ तथा ड्राइभिङ सहज बनाउन ३६० डिग्री क्यामेरा पनि उपलब्ध छ ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम असिस्टलगायतका फिचर समावेश छन् ।
नाडा अटो शोमा दिइएको १ लाख रुपैयाँको छुटसँगै पन्च ईभी फेसलिफ्ट नेपाली विद्युतीय सवारी बजारमा थप प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको छ । छोटो समयमै उच्च बुकिङ र डेलिभरी संख्या देखिएको यो मोडलमा नाडा अफरले ग्राहकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।