काठमाडौं । नेपाली ब्रान्ड यात्रीले नयाँ विद्युतीय स्कुटर पी–२ बजारमा भित्र्याएको छ । सिप्रदी यात्रीले नेपालमै निर्माण गरेको यो स्कुटर अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
पी–२ मा १० किलोवाट क्षमताको मोटर र ५.२ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार पूर्ण चार्जमा यसले १५७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।
चार्जिङ समयलाई पनि कम गर्ने गरी स्कुटर विकास गरिएको कम्पनीको दाबी छ । सामान्य घरेलु चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न करिब २ घण्टा ३० मिनेट लाग्छ । डीसी फास्ट चार्जिङबाट भने यही स्तरको चार्ज केवल ४१ मिनेटमा पूरा गर्न सकिनेछ ।
सहरी यात्रालाई केन्द्रमा राखेर तयार गरिएको पी–२ ले उकालो तथा चुनौतीपूर्ण सडकमा समेत प्रदर्शन दिन सक्ने गरी डिजाइन गरिएको छ । कम्पनीका अनुसार स्कुटरले २१ डिग्रीसम्मको उकालो सहज रूपमा पार गर्न सक्छ ।
प्रविधिका हिसाबले पनि पी–२ मा उन्नत कनेक्टिभिटी प्रणाली उपलब्ध गराइएको छ । उच्च मोटर क्षमता, लामो रेन्ज र आधुनिक प्रविधिको संयोजनमार्फत दैनिक आवागमनलाई थप सहज बनाउने लक्ष्य कम्पनीले राखेको छ ।
सिप्रदी यात्रीले नयाँ मोडलले नेपाली उपभोक्ताको विश्वास जित्ने अपेक्षा गरेको छ । कम्पनीले पी–२ लाई मंगलबारदेखि राजधानीमा सुरु हुने नाडा अटो शो मा समेत प्रदर्शन गर्ने तयारी गरेको छ ।
नेपालमै निर्माण भएको नयाँ विद्युतीय दुईपाङ्ग्रे मोडलका रूपमा पी–२ को बजार प्रवेशले नेपाली ईभी बजारमा स्थानीय उत्पादनको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।