काठमाडौं । जगदम्बा मोटर्स प्रालिले वीरगञ्जमा प्रोटोनको नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा शोरुम विस्तारसँगै कम्पनीले प्रोटोनको नयाँ विद्युतीय कार ई.मास ५ समेत औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै नेपालमा प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ । कम्पनीले आफ्नो नेटवर्कलाई थप विस्तार गर्दै दशैंअघि पूर्वी नेपालमा बिर्तामोडमा अर्को शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । बिर्तामोडको शोरुम सञ्चालनमा आएपछि नेपालमा प्रोटोनका आधिकारिक आउटलेट १२ पुग्नेछन् ।
प्रोटोन ई.मास ५ नेपालमा कम्पनीको दोस्रो विद्युतीय सवारी हो । सहरी आवागमन तथा दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको यो ईभीमा आधुनिक प्रविधि, स्मार्ट फिचर र व्यावहारिक डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।
ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसमेत दिइएको छ । दैनिक प्रयोगलाई सहज बनाउन अगाडि ७० लिटर क्षमताको फ्रंक, पछाडिको लगेज स्पेसलाई ३७५ लिटरसम्म विस्तार गर्न सकिने व्यवस्था तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा समेत ई.मास ५ ले अवार्ड जितिसकेको छ । हालै मलेसियामा आयोजित ‘अलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा यसले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
वीरगञ्जमा आयोजित शोरुम उद्घाटन तथा ई.मास ५ सार्वजनिक कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य अतिथिको सहभागिता थियो । कार्यक्रममा देखिएको सहभागिताले वीरगञ्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रतिको बढ्दो चासोलाई समेत संकेत गरेको कम्पनीको भनाइ छ ।
जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्रीले वीरगञ्जजस्तो महत्वपूर्ण व्यापारिक बजारमा ई.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको बताए । उनका अनुसार आधुनिक प्रविधि, सुरक्षा, प्रयोगात्मक फिचर र मूल्यको संयोजनका कारण यो मोडलले मधेश प्रदेशका ग्राहकको आकर्षण पाउने अपेक्षा गरिएको छ ।
ई.मास ५ को क्षेत्रीय लन्च अभियान भक्तपुरबाट सुरु भएर धनगढी हुँदै वीरगञ्ज पुगेको कम्पनीले जनाएको छ । नेपालका विभिन्न स्थानमा रहेका प्रोटोन शोरुममार्फत ग्राहकलाई नयाँ ईभीसँग प्रत्यक्ष जोड्ने तथा यसको बजार विस्तार गर्ने कम्पनीको योजना छ ।
ई.मास ५ दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ । वीरगञ्ज क्षेत्रीय लन्चको अवसरमा जगदम्बा मोटर्सले प्राइमको प्रारम्भिक मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
ग्राहकले वीरगञ्ज बाइपास रोडमा रहेको नयाँ आधिकारिक प्रोटोन शोरुममा पुगेर ई.मास ५ र ई.मास ७ अवलोकन गर्नुका साथै टेस्ट ड्राइभसमेत गर्न सक्नेछन् । शोरुमबाट गाडीका प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
वीरगञ्जमा नयाँ शोरुम सञ्चालनलाई जगदम्बा मोटर्सले नेपालभर प्रोटोनको पहुँच विस्तार गर्ने योजनाको अर्को महत्वपूर्ण चरणका रूपमा लिएको छ । क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने उद्देश्यसहित कम्पनीले आगामी दिनमा बिर्तामोडसहित अन्य क्षेत्रमा पनि आफ्नो नेटवर्क विस्तार गर्ने तयारी गरेको छ ।