काठमाडौं । आगामी नाडा अटो शो दुईपाङ्ग्रे सवारीका नयाँ मोडल र प्रविधिका कारण थप आकर्षक बन्ने भएको छ । प्रदर्शनीमा सहभागी विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने तयारी गरेसँगै यसपटकको शोमा दुईपाङ्ग्रे सवारीबीचको प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
१८औँ संस्करणको नाडा अटो शोमा ११ कम्पनीअन्तर्गत १३ वटा दुईपाङ्ग्रे ब्रान्ड सहभागी हुँदैछन् । उनीहरूले पेट्रोलियम सवारीदेखि विद्युतीय स्कुटर तथा मोटरसाइकलसम्मका नयाँ उत्पादन प्रदर्शनीमा राख्ने तयारी गरेका छन् ।
शोको विशेष आकर्षणमध्ये नेपाली प्रविधि र लगानीमा तयार भएको यात्रीको नयाँ विद्युतीय स्कुटर रहनेछ । नेपाली श्रम, सीप र पुँजीबाट निर्माण गरिएको उक्त स्कुटरलाई ‘मेड इन नेपाल’ उत्पादनका रूपमा प्रदर्शनीमा प्रस्तुत गरिँदैछ । यसले नेपाली बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादनको सम्भावनालाई समेत देखाउनेछ ।
यामाहा नेपालले अटो शोमा चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । एमएडब्ल्यू राइड प्रालिअन्तर्गतको कम्पनीले यामाहा एक्सएसआरसहित नयाँ उत्पादन ल्याउने जनाएको छ । यी मोडलको मूल्य तथा अन्य विवरण भने प्रदर्शनी सुरु भएपछि सार्वजनिक गरिनेछ ।
त्यस्तै, सीजी मोटर्सले हिरोका तीन नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स र २३० सीसीको एक्सट्रिम मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भिडाको भीएक्स२ जेड स्कुटर र केथी डट मिनी मोटरसाइकललाई समेत प्रदर्शनीमा राख्नेछ ।
विद्युतीय दुईपाङ्ग्रेमा मिचे अटो नेपालले पनि आक्रामक उपस्थिति जनाउने भएको छ । कम्पनीले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । तीमध्ये पाँचवटा विद्युतीय स्कुटर रहनेछन् । नेपालमै विद्युतीय दुईपाङ्ग्रे एसेम्बल गर्दै आएको मिचेले नयाँ उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ ।
रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले अन्तर्राष्ट्रिय बजारमा हालै सार्वजनिक भएको नयाँ क्लासिक मोडललाई नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने भएको छ । कम्पनीले उक्त मोडललाई नाडा अटो शोको आकर्षणका रूपमा अघि सार्ने तयारी गरेको छ ।
यससँगै क्युजे मोटर्स, जोनेसन, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, एभिएयर, रिभोल्ट र मेटा ईभीलगायतका ब्रान्डले पनि प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।
नयाँ मोडलसँगै विद्युतीय प्रविधि र स्थानीय एसेम्बलीमा केन्द्रित उत्पादनको बढ्दो उपस्थितिले यस वर्षको नाडा अटो शोमा दुईपाङ्ग्रे सवारीको बदलिँदो बजार प्रवृत्तिलाई नजिकबाट देखाउने भएको छ । एउटै प्रदर्शनीस्थलमा विभिन्न ब्रान्डका नयाँ उत्पादन आउने भएकाले नयाँ मोटरसाइकल तथा स्कुटर खोजिरहेका ग्राहकका लागि पनि शो महत्वपूर्ण हुने देखिएको छ ।