गाडी किन्नेदेखि चलाउनेसम्मको समाधान एउटै छानामुनि, भदौ ९ देखि नाडा अटो शो

काठमाडौं । गाडी किन्नु केवल केही समयको निर्णय होइन, त्यसपछि वर्षौंसम्म जोडिने खर्च, मर्मत, बीमा, बैंकिङ तथा स्पेयर पार्ट्सको व्यवस्थापनसँग सम्बन्धित विषय पनि हो। यही पक्षलाई समेट्दै आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘१८औं नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टमलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिने भएको छ।

करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्। नाडाका अनुसार कार्यक्रममा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।

प्रदर्शनीमा जापानी, भारतीय, कोरियाली तथा युरोपेली ब्रान्डसँगै मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन र चिनियाँ कम्पनी चेरीअन्तर्गतका ओमोडा तथा जेको, जीडब्ल्यूएमलगायतका ब्रान्डसमेत सहभागी हुनेछन्।

यसपटकको अटो शोको अर्को विशेषता भनेको सवारीसाधन बिक्री गर्ने कम्पनीबाहेक अटोमोबाइलसँग सम्बन्धित अन्य व्यवसायको ठूलो सहभागिता हो। करिब ७० वटा कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।

यसले अटो शोमा नयाँ गाडी हेर्न आउने ग्राहकलाई गाडी खरिदपछि आवश्यक पर्ने सेवा तथा उपकरणबारे पनि जानकारी लिन सक्ने अवसर दिने आयोजकको अपेक्षा छ।

बैंक–बीमादेखि ईभी वित्तीय योजनासम्म

नयाँ सवारी खरिद गर्दा वित्तीय व्यवस्थापनलाई समेत सहज बनाउन प्रदर्शनीमा करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी सहभागी हुनेछन्। उनीहरूले अटो लोन तथा सवारी बीमासम्बन्धी विभिन्न योजना प्रस्तुत गर्नेछन्।

विशेषगरी विद्युतीय सवारीसाधनका लागि लक्षित वित्तीय योजनालाई पनि प्रदर्शनीको आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।

अवलोकनकर्तालाई सहज बनाउन प्रदर्शनी क्षेत्रलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण लगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसबाट एउटै भ्रमणमा सवारीसाधन, वित्तीय सुविधा, बीमा तथा आवश्यक पार्ट्स र उपकरणबारे जानकारी लिन सकिनेछ।

विदेशी तथा स्वदेशी उत्पादनका लागि छुट्टाछुट्टै प्याभिलियन

नाडा अटो शोमा विदेशी सहभागीलाई लक्षित गर्दै ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन समेत स्थापना गरिने भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो गाडी प्रदर्शनमा मात्र सीमित नरहेको बताए। उनका अनुसार सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनयोग्य बनाइराख्ने अटो पार्ट्स, उपकरण तथा प्रविधिसँग सम्बन्धित उद्योग पनि अटोमोबाइल क्षेत्रको महत्वपूर्ण हिस्सा भएकाले प्रदर्शनीमा त्यसलाई समेत प्राथमिकता दिइएको हो।

करिब पाँच दशकअघि सानो कोठाबाट सुरु भएको नेपालको अटोमोबाइल उद्योग अहिले ३ लाख वर्गफिटको प्रदर्शनीसम्म विस्तार हुनुले देशको अटोमोबाइल क्षेत्रको आकार र यसको इकोसिस्टममा आएको परिवर्तनलाई समेत प्रतिबिम्बित गर्ने आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *