काठमाडौं । चीनको सवारीसाधन निर्माता एफएडब्लु ग्रुपको प्रिमियम ब्रान्ड हङछीका आगामी विद्युतीय कारमा बीवाईडीको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र फ्ल्यास चार्जिङ प्रविधि प्रयोग हुने भएको छ।
एफएडब्लु र बीवाईडीको संयुक्त परियोजना एफएडब्लु–फिनड्रिम्सले ब्याट्री उत्पादनलाई सामूहिक उत्पादनको चरणमा प्रवेश गराएसँगै दुई कम्पनीबीचको सहकार्य थप विस्तार भएको हो।
यसअघि बीवाईडीले आफ्नै विद्युतीय सवारीसाधनमा प्रयोग गर्दै आएको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि पहिलोपटक बाह्य ब्रान्डको सवारीसाधनमा प्रयोग गर्न लागिएको जनाइएको छ। एफएडब्लु–फिनड्रिम्सका अनुसार हङछीको नयाँ पुस्ताको शुद्ध विद्युतीय प्लेटफर्ममा उक्त प्रविधि समावेश गर्ने काम तीव्र रूपमा अघि बढिरहेको छ।
एफएडब्लु र बीवाईडीको संयुक्त लगानीमा निर्माण भइरहेको ब्याट्री उत्पादन परियोजनामा करिब १८० अर्ब युआन लगानी हुने बताइएको छ। परियोजनाका सबै चरण पूरा भएपछि वार्षिक करिब ६ लाख विद्युतीय सवारीसाधनलाई पुग्ने ब्याट्री उत्पादन गर्ने क्षमता विकास हुने जनाइएको छ।
नयाँ ब्याट्री प्रविधिसँगै हङछीका आगामी विद्युतीय मोडलमा चार्जिङ क्षमतामा समेत सुधार हुने अपेक्षा गरिएको छ। फ्ल्यास चार्जिङ प्रविधिले कम समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्ने कम्पनीहरूको योजना छ।
हङछीका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध छन्। नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत हङछीका विद्युतीय मोडल नेपाली बजारमा सार्वजनिक गरेको थियो।
नयाँ ब्याट्री र चार्जिङ प्रविधिको प्रयोगले हङछीका आगामी ईभीलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।