अटो लोन सस्तो बनाउँदै बैंकहरू, नेपाल बैंकको ब्याजदर ५ प्रतिशतबाट सुरु

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरूले सवारी कर्जा विस्तार गर्न ब्याजदर घटाउँदै आकर्षक योजना ल्याउन थालेका छन्। नजिकिँदै गरेको चाडपर्व र आगामी नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूबीच अटो लोनमा प्रतिस्पर्धा बढेको हो।

यसैबीच सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले सुरुवाती ५ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। पछिल्लो समय बैंकहरूले ल्याइरहेका अटो लोन योजनामध्ये यो तुलनात्मक रूपमा सस्तो ब्याजदर हो।

यसअघि ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने योजना सार्वजनिक गरेको थियो। त्यसको केही समयपछि नेपाल बैंकले अझ कम ब्याजदरको योजना अघि सारेको हो।

नेपाल बैंकको योजनाअनुसार ग्राहकले सवारीसाधन खरिदका लागि सवारी मूल्यको ६० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। कर्जाको अवधि ग्राहकको आवश्यकता र सुविधाअनुसार ५ देखि ७ वर्षसम्म निर्धारण गर्न सकिने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई परिवर्तनशील तथा फिक्स्ड ब्याजदरमध्ये आफूलाई उपयुक्त विकल्प रोज्ने सुविधा दिएको छ। देशभर रहेका बैंकका शाखाबाटै कर्जा सुविधा लिन सकिने तथा आवश्यक कागजात पूरा भएपछि प्रक्रिया छिटो सम्पन्न गर्ने बैंकको भनाइ छ।

व्यक्तिगत रूपमा सवारी कर्जा लिन चाहने ग्राहकले ऋणी तथा जमानी बस्ने व्यक्तिको फोटो, नागरिकता वा राहदानीको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, आम्दानीको स्रोत खुल्ने कागजात र प्यान कार्डलगायतका कागजात बुझाउनुपर्नेछ।

त्यस्तै, संस्थागत ऋणीका लागि संस्था दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावली र पछिल्लो कर चुक्ता प्रमाणपत्र आवश्यक पर्ने बैंकले जनाएको छ।

नेपालमा चाडपर्वको समयमा सवारीसाधनको बिक्री बढ्ने गरेको छ। त्यसमाथि हालै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भएको र आगामी भदौ ९ गतेदेखि नाडा अटो शो आयोजना हुन लागेकाले बैंकहरूले समेत सवारी खरिदकर्तालाई आकर्षित गर्ने उद्देश्यले कर्जा योजना सार्वजनिक गर्न थालेका छन्।

बैंकहरूबाट आउने यस्ता सहुलियतपूर्ण कर्जा योजनाले आगामी दिनमा नयाँ तथा विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *