काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा आवागमन अवरुद्ध वा सीमित गरिएको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुवै स्थानमा वैकल्पिक मार्गको व्यवस्था रहेको बताइएको छ।
बागमती प्रदेशमा सडकको अवस्था थप जोखिमपूर्ण देखिएको छ। काभ्रेको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकखण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
गण्डकी प्रदेशमा लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। बागलुङको कालीगण्डकी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्ड भने बाढी र पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।