नेपाल आइपुग्यो टाटा सिएरा ईभी, नाडा अटो शो २०२६ मा प्रदर्शन गरिने

टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा सिएरा ईभी नेपाल आइपुगेको छ ।

सिप्रदीले आगामी भदौ ९ देखि प्रारम्भ हुने नाडा अटो शो २०२६ मा सो गाडी प्रदर्शन गर्ने बताइएको छ । टाटा सिएरा भारतमा केही महिना पहिले मात्र लन्च गरिएको थियो । सो ईभीले भारतीय बजारमा निकै नै चर्चा कमाएको छ । नेपालमा समेत यसलाई निकै नै प्रतीक्षा गरिएको मानिन्छ ।

यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ। कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीको दाबी छ। साथै कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ।

टाटा सिएरा ईभीको बाहिरी डिजाइन निकै आकर्षक बनाइएको छ। यसमा अगाडि र पछाडि एलईडी हेडलाइट र टेललाइटको साथमा कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल समावेश गरिएको छ । इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ। म्युजिक सिस्टमका लागि यसमा १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम  र डल्बी एटमस प्रविधिको उपलब्ध छ।

सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छ । यसको फोर ह्विल ड्राइभ भेरिएन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ। सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्छ।

यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ । साथै ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि दिइएको छ ।

सो इलेक्ट्रिक एसयूभीले महिन्द्रा एक्सईभी ९ ई, महिन्द्रा बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *