काठमाडौं उपत्यकाका सार्वजनिक सवारी अब मोबाइलबाटै ट्र्याक गर्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्थाबारे यात्रुले मोबाइलबाटै जानकारी लिन सक्ने भएका छन्। ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक भएसँगै आफूले पर्खिरहेको स्थानमा सार्वजनिक सवारी कहिले आइपुग्छ भन्ने जानकारी लिन सकिने भएको हो।

बुधबार बसेको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन्।

हाल एपमार्फत जीपीएस जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारी साधनको लोकेसन तथा अन्य जानकारी हेर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा एपमा थप सवारी साधन समेट्दै जाने योजना रहेको जनाइएको छ।

बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र सबैको पहुँचमा पुर्‍याउन आवश्यक रहेको बताइन्। उनले रात्रिकालीन सार्वजनिक यातायात विस्तारसँगै विद्यालय तथा कलेज जाने विद्यार्थीलाई लक्षित गरी बिहानैदेखि सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनका अनुसार सार्वजनिक यातायात कुनै एउटा स्थानीय तहको सीमाभित्र मात्र सीमित हुने विषय नभएकाले उपत्यकाका स्थानीय तहबीच समन्वय र वित्तीय साझेदारी आवश्यक छ।

‘सार्वजनिक यातायात पालिकाहरूको साझा सवाल हो। त्यसैले समन्वय गरेर कार्यक्रम र सेवामा एकरूपता ल्याउनुपर्छ,’ उनले भनिन्।

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहज र सुविधाजनक महसुस गर्ने गरी यातायात प्रणाली विकास गर्नुपर्ने बताए। सार्वजनिक यातायात सुधारका लागि परिषद्सँग रहेको क्षमताको प्रभावकारी प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

परिषद्को बैठकले चालु वर्षका लागि विभिन्न कार्यक्रमसमेत स्वीकृत गरेको छ। जसअनुसार बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण गर्ने, रात्रिकालीन बस सञ्चालनका लागि आवश्यक सर्त र सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य गर्ने निर्णय भएको छ।

त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बस पार्कलगायत स्थानमा जीपीएस ट्याकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने योजना अघि बढाइएको छ। नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रमसमेत स्वीकृत भएको छ।

सार्वजनिक यातायातमा टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा यातायात क्षेत्रसँग सम्बन्धित अध्ययन र अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा नगरपालिका बीचको समन्वय तथा सहकार्य, सम्पदा र पर्यटकीय क्षेत्रलाई लक्षित गरी सार्वजनिक यातायात सञ्चालन गर्नेलगायत विषयमा समेत छलफल भएको थियो।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक २०८० भदौ २८ गते बसेको थियो। उक्त बैठकले प्राधिकरणको कार्यक्षेत्रभित्र पर्ने यातायात व्यवस्थापनसम्बन्धी निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

त्यसैगरी, दोस्रो बैठकले परिषद्को निर्णय प्रक्रिया तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन नौ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको थियो। परिषद्मा हाल ३५ सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *