सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय ट्राफिक नियम उल्लघंन गर्ने चालकहरूप्रति ट्राफिक प्रहरी निकै कडा रूपमा प्रस्तुत हुन थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांक अनुसार पछिल्लो १३ महिनाको अवधिमा नियम विपरीत सवारी चलाउने ४३ हजार ५९३ वटा सवारी साधनहरू कारबाहीमा परेका छन् । यसरी लापरवाहीपूर्वक गाडी हाँक्ने चालकहरूबाट प्रहरीले कुल ३ करोड १८ लाख ८५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्षमा प्रदेशका नौ वटै जिल्लामा गरी ३९ हजार २१२ सवारी साधन कारबाहीमा परेका थिए भने चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ४ हजार ३८१ सवारी साधनलाई नियन्त्रणमा लिई ३७ लाख ९० हजार ५०० रुपैयाँ जरिवाना उठाइएको छ ।
साउन महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ८७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए । गत आर्थिक वर्षभरिमा भने मापसे गर्ने ३ हजार ६४१ र लागूऔषध सेवन गरी गाडी हाँक्ने ५८ जना चालकलाई कारबाही गरिएको थियो ।
ट्राफिक प्रहरीका अनुसार सवारी नियम उल्लघंन गर्नेमा सबैभन्दा धेरै संख्या मोटरसाइकलको रहेको छ । गत आर्थिक वर्षमा १३ हजार ६४८ मोटरसाइकल, ८ हजार ८९३ जिप तथा कार, ६ हजार २८५ ट्रक, ३ हजार ७११ ट्याक्टर, १ हजार ७८५ बस र ४ हजार ८९० अन्य सवारी साधन कारबाहीमा परेका थिए ।
सुदूरपश्चिममा सवारी साधनको संख्या तीव्र रूपमा बढ्नु, सडक साँघुरा हुनु, चालकहरूमा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण सडक दुर्घटनाको जोखिम उच्च बन्दै गएको प्रहरीको भनाई छ । गत वर्ष मात्रै सुदूरपश्चिम प्रदेशमा भएका विभिन्न सवारी दुर्घटनामा परी २५० जनाले ज्यान गुमाएका थिए भने १ हजार ३८१ जना गम्भीर र १ हजार १६२ जना सामान्य घाइते भएका थिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकजाँचसँगै प्रदेशभर चेतनामूलक कार्यक्रमहरू पनि तीव्र पारिरहेको छ ।