काठमाडौं । बुटवल–पोखरा जोड्ने सिद्धार्थ राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने तयारी अघि बढेको छ। राजमार्ग स्तरोन्नति आयोजनाको पूर्वतयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकले २० लाख अमेरिकी डलर (करिब साढे ३० करोड रुपैयाँ) अनुदान उपलब्ध गराएको छ।
सडक विभागअन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाका अनुसार उक्त रकम परियोजना तयारी विशेष कोष (पीपीएसएफ) अन्तर्गत प्राप्त भएको हो। अनुदानबाट आयोजनाको विस्तृत अध्ययन, इन्जिनियरिङ डिजाइन तथा निर्माणको तयारीसँग सम्बन्धित काम अघि बढाइनेछ।
आयोजनाका लागि अन्तर्राष्ट्रियस्तरका परामर्शदाता छनोट गर्ने प्रक्रिया पनि सडक विभागले सुरु गरेको छ। पूर्वतयारीका कामलाई मुख्यतः दुई चरणमा अघि बढाउने योजना छ।
पहिलो चरणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), इन्जिनियरिङ सर्वेक्षण, डिजाइन, रेखांकन, लागत अनुमान तथा बोलपत्रसम्बन्धी कागजात तयार गरिनेछ। राजमार्गमा निर्माण गरिने सुरुङ तथा ठूला भायडक्टका लागि ईपीसी मोडल र सडक निर्माणका लागि ‘आइटम रेट’ ठेक्का प्रणाली अपनाउने प्रस्ताव गरिएको छ।
दोस्रो चरणमा आयोजनाको वातावरणीय तथा सामाजिक पक्षलाई समेटेर विभिन्न अध्ययन प्रतिवेदन तयार गरिनेछ। यसअन्तर्गत वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन (ईएसआइए), वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (ईएसएमपी), पुनःस्थापना योजना (आरपी) र सरोकारवाला सहभागिता योजना (एसईपी) तयार गरिनेछ।
सरकारले सिद्धार्थ राजमार्गलाई द्रुतमार्गको अवधारणाअनुसार विकास गर्ने तयारी गरेको छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार स्तरोन्नतिपछि हालको १५७ किलोमिटर सडकलाई ११२ किलोमिटरमा सीमित गर्ने लक्ष्य राखिएको छ।
सडकको दूरी घटाउन विभिन्न स्थानमा सुरुङमार्ग, भायडक्ट, पुल तथा नयाँ सडक निर्माण गरिनेछ। प्रस्तावित योजनाअनुसार २३ किलोमिटर सुरुङ, २.९५ किलोमिटर भायडक्ट, ८६० मिटर पुल, ११.७ किलोमिटर नयाँ सडक निर्माण तथा बाँकी खण्ड स्तरोन्नति गरिनेछ।
समग्र सडक स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ। यसमध्ये अल्पकालीन सुधारतर्फ १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन सुधारअन्तर्गत सुरुङ तथा भायडक्ट निर्माणका लागि ९ अर्ब ३७ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
अल्पकालीन योजनामा सडकलाई सबै मौसममा सञ्चालनयोग्य बनाउने गरी डबल बिटुमिनस सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति तथा पुलहरूको मर्मतसम्भार गर्ने योजना छ। दीर्घकालीन योजनामा भने सडकको दूरी छोट्याउन सुरुङ र भायडक्ट निर्माणलाई प्राथमिकता दिइनेछ।
वि.सं. २०२८ सालमा निर्माण सम्पन्न भएको सिद्धार्थ राजमार्ग करिब ५४ वर्षपछि ठूलो स्तरमा स्तरोन्नति गर्न लागिएको हो। हाल ५.५ देखि ६ मिटर चौडाइ रहेको सडकलाई कम्तीमा ७ मिटर क्यारिजवे र दुवैतर्फ १.५/१.५ मिटर सोल्डरसहित करिब १० मिटर फराकिलो बनाउने प्रस्ताव गरिएको छ। सडकसँगै एक मिटरको नाला निर्माण गर्ने योजना पनि छ।
आयोजनाको निर्माण अवधि चार वर्ष तोकिएको छ। सडक विस्तारका क्रममा करिब ५४.१२ हेक्टर जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ। यसमध्ये ४१.४२ हेक्टर खेतीयोग्य जमिन र १२.१८ हेक्टर वन क्षेत्र पर्नेछ।
आयोजनाबाट २ हजार ९८२ वटा रूख काट्नुपर्ने र ३५५ घरधुरी प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, २१ संस्थागत भवन, ४५ बस बिसौनी, २३ सार्वजनिक धारा र १३ मठमन्दिरमा प्रभाव पर्ने अनुमान गरिएको छ।
हाल सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पोखरा पुग्न करिब ६ घण्टा लाग्ने गरेको छ। प्रस्तावित स्तरोन्नति सम्पन्न भएपछि यात्रा अवधि घटेर करिब साढे २ घण्टा पुग्ने अध्ययनले देखाएको छ। यसले लुम्बिनी र गण्डकी क्षेत्रबीचको सडक सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।