टाटाको ‘कार्निभल’ सुरु हुँदै, पुरानो गाडी साटेर नयाँ ईभी लैजान सकिने

काठमाडौं । टाटा मोटर्सले नेपालमा विद्युतीय सवारीको दायरा विस्तार गरिरहेका बेला ग्राहकलाई नयाँ ईभीमा अपग्रेड गर्न सहज हुने गरी विशेष एक्सचेन्ज योजना ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चौथो संस्करणको ‘टाटा कार्निभल’ आयोजना गर्दै यस्तो सुविधा दिन लागेको हो।

भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर टाटाका नयाँ गाडी खरिद गर्न सक्नेछन्। पुरानो गाडीको मूल्यलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी नयाँ टाटा गाडी लिन सकिने कम्पनीले जनाएको छ।

कार्निभलमा विशेषगरी हालै नेपालमा सार्वजनिक भएका पन्च ईभी र टियागो ईभीलाई प्राथमिकतामा राखिएको छ। यी मोडल खरिद गर्ने ग्राहकले एक्सचेन्ज सुविधासँगै विभिन्न अतिरिक्त लाभसमेत पाउनेछन्।

कम्पनीका अनुसार योजना अवधिमा गाडी बुक गर्ने ग्राहकले पुरानो सवारीको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसरिज तथा घरमै चार्जर जडानको सुविधा प्राप्त गर्नेछन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ। त्यस्तै, नयाँ टियागो ईभीको मूल्य २८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।

नयाँ पन्च ईभी टाटाको ‘एक्टि.ईभी’ प्लेटफर्ममा निर्माण गरिएको हो। यसमा ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। नेपालको सडकमा गरिएको परीक्षणका आधारमा पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्ससहित ५-स्टार बीएनक्याप सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस-एक्टिभेटेड सनरुफ, हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर बुट स्पेसजस्ता सुविधा छन्।

अर्कोतर्फ, नयाँ टियागो ईभीलाई दैनिक आवतजावतका लागि लक्षित गरिएको छ। यसमा नयाँ डिजाइन र रङ विकल्पसँगै ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ एयरब्यागजस्ता सुविधा उपलब्ध छन्।

सिप्रदीले कार्निभलमार्फत पुराना सवारी प्रयोग गरिरहेका ग्राहकलाई नयाँ पुस्ताका टाटा ईभीमा स्थानान्तरण गर्न सहज हुने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *