अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर यात्री पी२ ‘यात्री पीटु’ लाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढाउन आग्रह गरेका छन । साथै, यसकार्यमा सरकारको पनि साथ रहने बताएका छन्।
सिप्रदी यात्रीले काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा निर्माण गरिरहेको स्कुटरको उत्पादन प्रक्रिया अवलोकन गर्न पुगेका अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर र डिजाइनरले गरेको प्रयासको प्रशंसा गर्दै गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामा जोड दिन आग्रह गरे।
‘यात्री पीटु’ नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद र ऐतिहासिक उपलब्धि भएको बताउँदै उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बन्न आग्रह गर्दै सरकारले सधै साथ दिने बताए । वाग्लेले नेपाली उत्पादनलाई नेपालमै बढीभन्दा बढी उत्पादन गर्न सकिने वातावरण बनाउनुपर्ने बताए। उनले विश्व बजारमा विस्तारका लागि आवश्यक सहयोग र नीतिगत विषयबारे सरकारसँग छलफल गर्नसमेत आग्रह गरे।
अर्थमन्त्रीलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। नेपालका कठिन पहाडी तथा हिमाली भूभागमा स्कुटरको परीक्षण गरिएको र परीक्षण सफल भएपछि छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
कम्पनीका अधिकारीहरूले डीसी चार्जर जडान गरिएको विद्युतीय स्कुटर नेपालमै निर्माण हुनु विश्वमै पहिलो उपलब्धि भएको दाबी गरेका छन्। कम्पनीले भने स्कुटरका थप प्राविधिक विवरण र मूल्य सार्वजनिक गरेको छैन।
सिप्रदी यात्रीले उत्पादन गर्ने स्कुटर आगामी भदौ ९ देखि प्रारम्भ हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ ।