दिपलको ‘निभो क्यू०५’को नेपालमा बिक्री थालिने

नेपाल आउँदै गरेको दिपलको ‘क्यू०५’ले चिनियाँ उपभोक्तालाई आकर्षण गरेको छ । लगातार ४ महिनादेखि कम्प्याक्ट एसयूभी सेग्मेन्टको टप स्थान बनाउन सफल क्यू०५ भदौं पहिलो साता नेपालमा बिक्री सुरू हुने भएको हो ।

चीनमा एक लाख युनिट बिक्री पुरा गरेको क्यू०५ तीव्र गतिमा लोकप्रिय बन्दै गएको एसयूभी हो । चांगानले अगस्ट ११ मा सार्वजनिक गरेको विवरणअनुसार, अल न्यु क्यू०५ ले जुलाई २०२६ मा मात्रै १८ हजार ८७१ युनिट डेलिभरी गरेको छ। योसँगै उक्त एसयूभी लगातार चार महिना चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको हो ।

क्यू०५ ले सन् २०२६ को पहिलो ६ महिनामा कुल बिक्रीका आधारमा चीनको सर्वाधिक बिक्री हुने कम्प्याक्ट प्योर–इलेक्ट्रिक एसयूभीको उपाधिसमेत हासिल गरेको छ ।

यो उपलब्धिको गति अझ उल्लेखनीय छ । अल-न्यु क्यू०५ चीनमा नोभेम्बर २०२५ मा सार्वजनिक भएको थियो। अर्थात्, बजारमा आएको नौ महिना नपुग्दै यसको कुल बिक्री एक लाख युनिटभन्दा माथि पुगेको हो ।

चिनियाँ बजारको बिक्री तथ्यांकले पनि क्यू०५ को माग कति तीव्र गतिमा बढ्यो भन्ने देखाउँछ। जनवरीमा ४ हजार ४५२ र फेब्रुअरीमा ३ हजार ८५२ युनिट मात्रै बिक्री भएको क्यू०५ मार्चमा बढेर १२ हजार ६०२ युनिट पुगेको थियो ।

त्यसपछि अप्रिलमा १५ हजार ८१४, मेमा १५ हजार ९५४ र जुनमा १८ हजार ९०८ युनिट बिक्री भयो । जुलाईमा पनि यसले १८ हजार ८७१ युनिटको बलियो प्रदर्शन कायम राख्यो । यसरी जुलाईको बिक्री जनवरीको तुलनामा चार गुणाभन्दा बढीले वृद्धि भएको हो ।

चीनको अत्यन्त प्रतिस्पर्धी एक लाख युआन हाराहारीको इलेक्ट्रिक एसयूभी बजारमा क्यू०५ को सुरुवाती मूल्य ७९ हजार ९०० युआन तोकिएको छ । यसले कम्प्याक्ट एसयूभीको स्पेससँगै सीएटीएल ब्याट्री सेल, थ्री-सी फास्ट चार्जिङ र प्रविधिमैत्री डिजिटल क्याबिन प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *