काठमाडौं । हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी विकास गरिरहेको छ। परीक्षणका क्रममा पटक–पटक देखिएको उक्त मोडल ४ मिटरभन्दा कम लम्बाइको हुने र आकारका हिसाबले हुन्डाई भेन्यूसँग मिल्दोजुल्दो रहने अनुमान गरिएको छ।
हाल भारतीय बजारमा ४ मिटरभन्दा कम आकारको इलेक्ट्रिक एसयूभी बिक्री नगरेको हुन्डाईले नयाँ मोडललाई नयाँ नामसहित सार्वजनिक गर्न सक्ने चर्चा छ। यसको डिजाइन बक्सी तथा मस्कुलर शैलीको हुने अपेक्षा गरिएको छ भने प्रिमियम क्याबिनका लागि अत्याधुनिक प्रविधि समावेश गरिने बताइएको छ।
रिपोर्टका अनुसार नयाँ एसयूभीमा १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १२.३ इन्चकै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ। साथै प्यानोरामिक सनरुफ, वायरलेस मोबाइल चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा एडास (ADAS) जस्ता आधुनिक फिचर पनि रहने अपेक्षा गरिएको छ। सुरक्षाका लागि ६ वटा एयरब्याग र एडास प्रणाली समावेश गरिने बताइएको छ।
ब्याट्री विकल्पमा हुन्डाईको विश्वव्यापी इलेक्ट्रिक एसयूभी ‘इन्स्टर ईभी’बाट प्रेरित ४२ किलोवाट–आवर र ४९ किलोवाट–आवरका दुई विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यी ब्याट्रीले एकपटक पूर्ण चार्ज गर्दा करिब ४०० देखि ४५० किलोमिटरसम्मको रेन्ज दिने अपेक्षा गरिएको छ।
हुन्डाईले सन् २०२७ को अन्त्यसम्म भारतीय बजारमा यो नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने अनुमान गरिएको छ। यद्यपि कम्पनीले आधिकारिक रूपमा लन्च मिति घोषणा गरेको छैन।
भारतीय बजारमा यसको मूल्य १२ लाखदेखि १८ लाख भारतीय रुपैयाँसम्म हुन सक्ने अनुमान गरिएको छ। बजारमा आएपछि यसले टाटा पन्च ईभी, टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी तथा किया सिरोस ईभीसँग प्रतिस्पर्धा गर्नेछ।