काठमाडौं । ‘दीपाल प्रिजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को काठमाडौं ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशभरबाट छनोट भएर आएका ६५ जना प्रतिस्पर्धीले राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अर्को चरणमा स्थान बनाउन आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गरेका हुन्।
ग्लोबल ग्ल्यामर भेन्चर प्रालिले आयोजना गरेको प्रतियोगितामा दीपाल शीर्ष प्रायोजकको रूपमा रहेको छ। आयोजकका अनुसार अडिसनमा सहभागी ६५ जनामध्ये उत्कृष्ट २५ जना प्रतियोगीलाई आगामी चरणका लागि छनोट गरिनेछ।
यस वर्षको प्रतियोगिताको मुख्य विषयवस्तु ‘Perfect As You Are’ रहेको छ, जसले सौन्दर्यको निश्चित मापदण्डमा सीमित हुनुभन्दा आफ्नै मौलिक पहिचान र व्यक्तित्वलाई आत्मसात गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ। देशका विभिन्न क्षेत्रबाट काठमाडौं आएका प्रतियोगीहरूले निर्णायकमण्डलसमक्ष आफ्नो आत्मविश्वास, व्यक्तित्व र प्रस्तुति प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै दीपालका प्रबन्ध निर्देशक विवेक सिकारियाले ‘Perfect As You Are’ ले व्यक्तिको मौलिकता र आत्मविश्वासलाई सम्मान गर्ने सन्देश बोकेको बताए। उनले मिस युनिभर्स नेपालसँगको सहकार्यमार्फत यही सोचलाई प्रवर्द्धन गर्न पाउँदा गर्व लागेको उल्लेख गरे।
त्यस्तै, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले प्रतियोगिताले युवतीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र आत्मविश्वासका साथ भविष्य निर्माण गर्ने अवसर प्रदान गर्दै आएको बताइन्। उनका अनुसार यो प्रतियोगिता केवल ताज जित्ने यात्रा नभई सहभागीहरूको व्यक्तिगत विकासको पनि महत्वपूर्ण माध्यम हो।
काठमाडौं अडिसन सम्पन्न भएसँगै आयोजकले केही दिनभित्रै उत्कृष्ट प्रतिस्पर्धीहरूको सूची सार्वजनिक गर्दै मिस युनिभर्स नेपाल २०२६ को आगामी चरणको प्रतिस्पर्धा अघि बढाउने जनाएको छ। अन्तिम विजेताले अन्तर्राष्ट्रिय स्तरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।