कुजु नेपालले भित्र्यायो याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा तीन नयाँ विद्युतीय स्कुटर लन्च गरेको छ । कम्पनीले जीएस७०, जीटी७० र जीटी८० मोडलका नयाँ स्कुटरहरु सार्वजनिक गरेको हो।

सार्वजनिक यी स्कुटर आधुनिक प्रविधि, लामो दूरी र उन्नत सुरक्षा सुविधायुक्त विद्युतीय सवारी रहेको दाबी कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार जीएस७० दैनिक सहरी आवागमनका लागि उपयुक्त मोडल हो । यसमा २.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, जीटी७० लामो दूरीको यात्रालाई लक्षित गरी ल्याइएको स्कुटर हो । यसमा ५.७ किलोवाट–घण्टा क्षमताको डुअल ब्याट्री प्रणाली र ३.७ किलोवाट क्षमताको मोटर रहेको छ । एकपटक चार्ज गर्दा २२० किलोमिटरसम्म यात्रा गर्न सकिने तथा हटाउन मिल्ने ब्याट्रीको सुविधाले लामो यात्रामा सहजता थप्ने कम्पनीले जनाएको छ ।

प्रिमियम श्रेणीको जीटी८० मा ३.६ किलोवाट–घण्टा क्षमताको लिथियम ब्याट्री, ५ किलोवाट क्षमताको मोटर, प्रतिघण्टा ८० किलोमिटरको उच्च गति र १५० किलोमिटरसम्मको यात्रा क्षमता रहेको कम्पनीले बताएको छ ।

यी तीनै स्कुटरमा ब्लुटुथ जडान, स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन, मोबाइल एपमार्फत नियन्त्रण, किलेस प्रणाली, ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, उकालोमा रोक्ने तथा ओरालोमा गति नियन्त्रण गर्ने प्रणाली र डुअल डिस्क ब्रेकजस्ता सुरक्षा तथा स्मार्ट सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरको छ ।

कम्पनीले तीनै मोडलमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी दिएको जनाएको छ । हाल यी स्कुटर देशभरका २० आधिकारिक बिक्रेता केन्द्रबाट उपलब्ध रहेको र आगामी दिनमा सेवा तथा बिक्री सञ्जाल थप विस्तार गरिने जानकारी दिइएको छ ।

स्कुटर सार्वजनिक भएको अवसरमा कम्पनीले नाइमा अटो शो सम्पन्न नहुन्जेल तीनै मोडलमा १० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । ग्राहकले नजिकको आधिकारिक शोरुममा पुगेर परीक्षण सवारी, किस्ताबन्दी सुविधा तथा अन्य जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी नयाँ मोडलहरू आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। यसमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी र प्रभावशाली यात्रा दूरी (रेन्ज ) समावेश गरिएको छ। यी स्कुटरहरूले नेपाली उपभोक्तालाई उत्कृष्ट र सहज राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

दैनिक सहरी आवतजावत गर्नेदेखि लामो दूरीको यात्रा र उच्च प्रदर्शन खोज्ने ग्राहकहरूलाई लक्षित गरी विकास गरिएका यी मोडलहरू व्यावहारिक, किफायती र वातावरणमैत्री रहेका छन्। नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट र दिगो विद्युतीय यातायातलाई थप सुदृढ बनाउने कुजु नेपालले जनाएको छ।

याडियाका यी आकर्षक नयाँ स्कुटरहरूले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्दै नेपाललाई दिगो विद्युतीय यातायाततर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *