काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को बोर्डर आउट पोस्ट (बीओपी) सहित भन्सार कार्यालयका संरचनामा भौतिक क्षति पुगेको छ।
भन्सार कार्यालयका अनुसार शुक्रबार बिहान करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै उछिट्टिएका ढुंगाहरू कार्यालय परिसरमा बजारिँदा विभिन्न संरचनामा क्षति पुगेको हो।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। यद्यपि, ब्यारेकका झ्यालका सिसा फुट्नुका साथै भित्ता र जस्ताको छानामा प्वाल परेका छन्।
त्यसैगरी, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ। जिन्सी स्टोर भवनमा तीन स्थानमा प्वाल परेको छ भने मुख्य प्रवेशद्वार अगाडिको सिँढीमा समेत क्षति पुगेको छ।
घटनापछि प्रभावित संरचनाको निरीक्षण तथा थप जोखिमको मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाइएको छ।