काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। आयोजनाको सुरुङ (टनेल) निर्माणका लागि ब्लास्टिङ कार्य औपचारिक रूपमा सुरु भएसँगै भूमिगत संरचना निर्माणले गति लिएको हो।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सुरुङ खन्ने कार्य ताप्लेजुङको फुङलिङमा आयोजित विशेष कार्यक्रमबीच सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष सुदीपकुमार चौधरीले आयोजना नेपालको ऊर्जा सुरक्षालाई मजबुत बनाउने र दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने महत्वपूर्ण पूर्वाधार भएको बताए। निर्धारित समयभित्र उच्च गुणस्तरसहित आयोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसअघि सम्पन्न कम्पनीको २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आयोजनाको वित्तीय तथा भौतिक प्रगतिबारे सेयरधनीलाई जानकारी गराएको थियो।
करिब रु. २३ अर्ब ४ करोड लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन पूरा भइसकेको छ। परियोजनामा रु. १७ अर्ब २८ करोड ऋण लगानी रहनेछ, जसको नेतृत्व सिद्धार्थ बैंकले गरेको छ भने माछापुच्छ्रे बैंक सह–अगुवा बैंकको रूपमा रहेको छ। बाँकी रु. ५ अर्ब ७६ करोड सेयर पूँजीमार्फत जुटाइनेछ।
फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका क्षेत्रमा फैलिएको आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको आयोजनाबाट २०८५ असोज २५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य तय गरिएको छ।
कम्पनीका अनुसार हाल मुख्य पहुँच मार्ग, बाँधस्थल, सुरुङ प्रवेशद्वार तथा पावरहाउससम्मको सडक निर्माण सम्पन्न भइसकेको छ। साथै, विस्फोटक पदार्थ भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।