काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। महासङ्घको प्रतिनिधिमण्डलले चीनमा आयोजित APES Auto Parts Expo Shanghai 2026 को अवलोकन गर्नुका साथै अटोमोबाइल उद्योगका नवीनतम् प्रविधि, आधुनिक अटो पार्ट्स, ग्यारेज उपकरण, विद्युतीय सवारी प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रत्यक्ष अध्ययन गरेको महासङ्घले जनाएको छ।
भ्रमण सम्पन्न भएपछि महासङ्घका अध्यक्ष गोपाल भट्टराईले प्रतिनिधिमण्डलले प्राप्त गरेको ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्पर्कले नेपालको अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रलाई थप आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनस्थित SRM तथा Joylong सवारीसाधन उत्पादन गर्ने उद्योगहरूको समेत अवलोकन गरेको थियो। उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा औद्योगिक अभ्यासबारे टोलीले प्रत्यक्ष जानकारी हासिल गरेको महासङ्घले जनाएको छ।
अध्यक्ष भट्टराईले भ्रमणको सफल व्यवस्थापनका लागि नेपालमा SRM र Joylong ब्रान्डका आधिकारिक वितरक V G Motors परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता अन्तर्राष्ट्रिय अध्ययन भ्रमणले नेपाल र चीनबीच अटोमोबाइल क्षेत्रको ज्ञान आदान–प्रदान, प्रविधि हस्तान्तरण, लगानी तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भ्रमणबाट हासिल भएका अनुभव, सीप तथा अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालको अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार र प्राविधिक विकासमा प्रभावकारी रूपमा उपयोग गरिने बताउनुभयो।
महासङ्घका अनुसार चीन भ्रमणले नेपाली अटोमोबाइल क्षेत्रलाई विश्वस्तरीय प्रविधि, नवीन अभ्यास तथा अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।