सप्तकोशीमा बाढीको दबाब बढ्यो, कोशी ब्यारेजका ३० ढोका खोलिए

काठमाडौं । लगातारको वर्षाले पूर्वी नेपालको प्रमुख नदी सप्तकोशीमा बाढीको दबाब बढेको छ। नदीमा पानीको बहाव खतराको तह पार गरेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीमा हाल प्रतिसेकेन्ड २ लाख १८ हजार ३ सय क्युसेक पानी बगिरहेको छ। यो परिमाण जोखिमको संकेत मानिने १ लाख ५० हजार क्युसेकभन्दा झन्डै ७० हजार क्युसेक बढी हो। बहाव निरन्तर बढ्दै गएपछि कोशी ब्यारेज क्षेत्रमा खतराको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनका अनुसार नदी किनारमा अनावश्यक रूपमा आवतजावत नगर्न, माछा मार्न तथा डुंगा सञ्चालन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचना पालना गर्न सबैलाई अनुरोध गरिएको छ।

नेपालका सात प्रमुख नदी– सुनकोशी, अरुण, तमोर, दूधकोशी, भोटेकोशी, तामाकोशी र इन्द्रावती–को संगमबाट बनेको सप्तकोशी वर्षायाममा सबैभन्दा बढी प्रभावित हुने नदीमध्ये एक हो। माथिल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहँदा नदीको बहाव छोटो समयमै उल्लेख्य रूपमा बढ्ने भएकाले प्रत्येक मनसुनमा कोशी तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्ने गर्छ।

वि.सं. २०२२ सालमा भारतको सहयोगमा निर्माण गरिएको ५६ ढोके कोशी ब्यारेज बाढी नियन्त्रण, सिंचाइ र नदी व्यवस्थापनका लागि प्रयोग हुँदै आएको छ। तर, कोशी नदीको धार परिवर्तन गर्ने स्वभावका कारण यस क्षेत्रले विगतमा पटक–पटक ठूलो क्षति बेहोरेको छ। विशेषगरी २०६५ साल भदौ ५ गते पश्चिम कुशाहामा बाँध फुट्दा भएको विनाशकारी बाढी अहिले पनि कोशी क्षेत्रका बासिन्दाका लागि अविस्मरणीय घटना मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *