काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी जाम न्यूनीकरण गर्न १०७ वटा प्रमुख चोकको सुधार तथा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका)ले संयुक्त रूपमा तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’ मा उक्त योजना समावेश गरिएको हो।
मास्टर प्लानअनुसार सन् २०४० सम्म चरणबद्ध रूपमा १०७ वटा चोक स्तरोन्नति गरिने प्रस्ताव छ। पहिलो चरणमा सन् २०३२ सम्म २३ वटा चोक सुधार गरिनेछ भने दोस्रो चरणमा सन् २०४० सम्म थप ८४ वटा चोक स्तरोन्नति गरिने योजना छ। सम्पूर्ण योजनाका लागि करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
चोक स्तरोन्नतिअन्तर्गत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आइल्याण्ड, मिडियन, कर्ब र्याम्प, आकाशे पुल, बस स्टप, राइट टर्न लेन र राइट टर्न होल्डिङ क्षेत्र निर्माण गरिने प्रस्ताव गरिएको छ। साथै, एक चोकबाट अर्को चोकसम्म समन्वय हुने गरी आधुनिक ट्राफिक लाइट, सडक बत्ती, सीसीटीभी क्यामेरा, रोडसाइड सेन्सर तथा केन्द्रीय नियन्त्रण (सेन्ट्रल कन्ट्रोल) प्रणाली जडान गर्ने योजना पनि समावेश गरिएको छ।
पहिलो चरणमा लैनचौर, केशरमहल, न्यूरोड, कालिमाटी, सुन्धारा, टेकु, कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, डिल्लीबजार, सिंहदरबार, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, कोटेश्वर, जडीबुटी, ग्वार्को, गट्ठाघर, लोकन्थली, कौशलटार, सानोठिमी र ठिमीका चोक स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ। यस चरणका लागि करिब डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।
यस्तै, दोस्रो चरणमा थप ८४ वटा चोक सुधार गर्न करिब पौने ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। ट्राफिक सिग्नल, रोडसाइड सेन्सर तथा केन्द्रीय नियन्त्रण प्रणाली स्थापनाका लागि थप १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने उल्लेख गरिएको छ।
योजना कार्यान्वयनमा आएपछि काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक जाम कम हुनुका साथै ट्राफिक व्यवस्थापन थप व्यवस्थित हुने र यात्रु तथा सवारी चालकलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।