मनसुनको प्रभाव बढ्यो, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग तथा मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *