चीनसँगको नाका अवरोधले अटो शोमा डेलिभरीमा समस्या हुने संकेत

चीनसँगको तातोपानी र रसुवागढी नाका महिनौंदेखि अवरुद्ध हुँदा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयातमा उल्लेख्य कमी आएको छ। सीमावर्ती अवरोधका कारण नयाँ मोडल सार्वजनिक गर्ने व्यवसायीहरूको योजना प्रभावित भएको छ भने अटो शोहरूमा समेत सवारी साधन प्रदर्शन र डेलिभरीमा समस्या देखिने सम्भावना बढेको छ।

आयातमा कमी आएसँगै यसै महिना हुने दुई ठूला अटोमोबाइल प्रदर्शनीअघि नयाँ मोडलहरू सार्वजनिक गर्ने व्यावसायीहरूको योजना समेत चुनौतीपूर्ण बनेको छ । नेपालमा गत आर्थिक वर्षमा ईभी आयात २४.०३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षभर यात्री बस, माइक्रोबस र निजी सवारी साधनसहित चारपांग्रे सवारी साधनको समग्र आयात १९.०७ प्रतिशतले घटेको विभागले जानकारी गराएको छ ।

नेपालले गत आर्थिक वर्षमा ४० अर्ब ४४ करोड रुपैयाँ बराबरका १७ हजार ६८८ युनिट चारपांग्रे सवारी आयात गरेको थियो । त्यसमध्ये ३१ अर्ब ३२ करोड रुपैयाँ मूल्यका १३ हजार ४ युनिट ईभी थिए । चीन सीमामा अवरोध जारी रहेकै बेला आपूर्तिमा समस्या हुँदा २५ साउनदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र ९ भदौदेखि सुरु हुने नाडा अटो शो २०२६ मा आयातकर्ताहरूले तोकिएको समयमा नयाँ मोडलहरू सार्वजनिक गर्न नसक्ने चिन्ता बढ्दै गएको छ ।

पछिल्ला वर्षहरूमा मुलुकको उत्तरी नाकाहरूबाट हुने व्यापारमा पटकपटक अवरोध भइरहेको छ । २४ असार २०८२ मा ल्हेन्दे खोलामा आएको बाढीले चीनसँगको नेपालको प्रमुख व्यापारिक नाकामध्ये केरुङस्थित मितेरी पुल बगाएको थियो । त्यस ठाँउमा अस्थायी पुल निर्माण गर्न चीनलाई करिब ६ महिना लागेको थियो । नेपालको रसुवागढी भन्सार विन्दु केरुङबाट करिब २४ किलोमिटर दक्षिणमा पर्छ । यस्तै सिन्धुपाल्चोकको तातोपानी सीमा नाका पनि गत वर्ष ठूलो पहिरो आएका कारण बाटो अवरुद्ध हुँदा करिब ३ महिना बन्द भएको थियो ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले गत आर्थिक वर्षमा ४ सयदेखि ५ सय युनिट ईभी आयात गर्ने योजना बनाएको भएपनि ‘चीन सीमामा आएको अवरोधका कारण आयात गर्न कठिन भएको थियो । ‘यस्ता अवरोधहरू हुँदा सरकारले सहज व्यापार सुनिश्चित गर्नुपर्ने उनको भनाई छ। यो ईभी आयात गर्नेबारे मात्र नभई सबै वस्तुहरूको विषय भएकाले सरकारले प्रमुख व्यापारिक मार्गहरूलाई प्राथमिकता दिइनुपर्ने श्रेष्ठले जानकारी गराइन ।

आपूर्ति अवरोधले गर्दा गत वर्षको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) र नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)  अटो शोमा प्रदर्शन गरिएका नयाँ मोडलका सवारी समेत डिलरहरूले ग्राहकलाई उपलब्ध गराउन सकेनन् । उनीहरूले यदि तातोपानी नाका बन्द नै रह्‌यो भने यस वर्षका प्रदर्शनीहरूले पनि उस्तै धक्का व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।अटो शोमा नयाँ मोडलहरू परिचय गराउने योजना बनाए पनि धेरै सवारी साधन नाकामै रोकिएको इलेक्ट्रिक भेहिकल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम सापकोटाले बताए ।

यद्यपि, नयाँ कर नीतिपछि पहिले ४० लाख देखि ५० लाख रुपैयाँ मूल्यका सवारी साधन खोज्ने ग्राहकहरू अब ४० लाख रुपैयाँभन्दा कम मूल्यका सवारीतर्फ मोडिएका छन् । ५० लाख रुपैयाँभन्दा माथिका प्रिमियम ईभीको माग कमजोर भएको छ भने कम मूल्यको सेगमेन्टमा प्रतिस्पर्धा तीव्र रुपमा बढेको छ ।

पूर्वाधार विकास मन्त्रालयद्वारा जारी राष्ट्रिय यातायात नीति २०८३ अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा ६३ हजा २ सय ८० युनिट ईभी दर्ता भएका छन् । ईभीले वर्षभरि देशमा आयात गरिएका कुल यात्रुवाहक सवारीको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको नीतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *