काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा बसले ठक्कर दिँदा यात्रुवाहक जिप सुनकोशी नदीमा खसेको छ।
गाउँपालिका उपाध्यक्ष राजु बरालका अनुसार मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डको नवलपुरमा रोकिराखिएको जिपलाई काठमाडौंबाट जाँदै गरेको बसले ठक्कर दिएको थियो। ठक्करपछि जिप सडकबाट सुनकोशी नदीमा खसेको हो।
बरालका अनुसार जिपमा मध्यपहाडी राजमार्ग निर्माण आयोजनाको साइटमा खटिएका ठेकेदारसमेत सवार थिए। जिपमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको भए पनि प्रारम्भिक जानकारीअनुसार तीनदेखि चार जना रहेको बताइएको छ।
घटनापछि उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठका अनुसार उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन भइसकेको छ।
दुर्घटनाको विस्तृत विवरण तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।