चौतर्फी आलोचनापछि सांसदले तिरे ट्राफिक जरिवाना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराइएको हो ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा समेत मागेका छन्। आफ्नो बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको उल्लेख गर्दै त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा आफुले ट्राफिक नियम उल्लङ्घन गरेको महसुस गरेको गुप्ताले बताए ।

उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगमी दिनमा यस्तो गल्ती नदोर्‍याउने र अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। आफुबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्ने उल्लेख गरे ।

भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएपछि सडक सुरक्षाका आधारभूत नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

गुप्ता आफैंले जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर ५०० रुपैयाँ जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *