नेपाली बजारमा टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर अर्बिटर लन्च भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्बिटर बिक्री सुरू गरेको हो ।
अर्बिटर टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल हो । यसअघि आइक्युब इलेक्ट्रीक स्कुटर बिक्री हुँदै आइहरेको छ ।
कम्पनीले अर्बिटरको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । साथै, यस इलेक्ट्रीक स्कुटर अर्बिटरको फिचर र ब्याट्री पावर पनि आकर्षक रहेको छ।
टीभीएसको अर्बिटर विशेषगरी सिटी राइडका लागि मात्रै उपयुक्त हुने किसिमको इलेक्ट्रीक स्कुटर हो ।
यसमा ३.१ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसले एक सिंगल चार्जमा १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज प्रदान गर्छ । तर कम्पनीले १३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताएको छ ।
स्कुटरमा २.५ पिक किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटर पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सकको सेटअपले सुसज्जित छ।
स्कुटर सार्वजनिक गर्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अरबिटरको आगमनसँगै दिगो तथा स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता अझ सुदृढ भएको बताए।
आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक प्रयोगलाई ध्यानमा राखेर नयाँ पुस्ताका ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनको भनाइ छ।